एक इन्जिनियरको वैध आर्जन एक करोड, अवैध आर्जन १६ करोड

डिसी नेपाल
२५ भदौ २०७७ १८:५०

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले करिब १७ करोड बराबरको अवैध सम्पत्ति आर्जन गरेको आरोपमा सिनियर डिभिजन इन्जिनियर काशी प्रसाद गुप्तासहित १३ जना विरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ।

अख्तियारले संघीय आयोजना कार्यान्वयन इकाई, बिराटनगरका तत्कालीन सिनियर डिभिजनल ईन्जिनियर गुप्ताले सार्वजनिक पदमा वहाल रहँदा पदको दुरुपयोग गरी गैरकानूनी सम्पत्ति आर्जन गरेको भन्दै मुद्दा दायर गरेको हो। गुप्ताले २०३८।०९।१२ मा ओभरसियर पदबाट सार्वजनिक सेवामा प्रवेश गरी २०७६।०३।०५ मा सिडिई पदबाट अवकाश लिएका थिए। सो अवधिसम्म उनले गैरकानूनी रुपमा आर्जन गरेको सम्पत्ति १६ करोड ७२ लाख ५६ हजार ४ सय ९६ रुपैयाँ ८६ पैसा बिगो कायम गरी उनी, उनकी श्रीमती मीता गुप्तासमेत १३ जना बिरुद्ध मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए।

तत्कालीन सिडिई काशी प्रसाद गुप्ताले सार्वजनिक पद धारण गरेको मितिदेखि अनुसन्धान गर्न कायम गरिएको मिति २०७७।०९।२९ सम्मको वैध आय १ करोड ११ लाख ६९ हजार ९६२ सय रुपैयाँ ६३ पैसा आर्जन गरेको र सोही अवधिमा उनले १७ करोड ८४ लाख २६ हजार ४५९ सय रुपैयाँ ४९ पैसा खर्च तथा लगानी गरेको पुष्टि भएको अख्तियारले जनाएको छ। वैधानिक आयबाट खर्च तथा लगानी घटाउँदा बाँकी रहन आउने १६ करोड ७२ लाख ५६ हजार ४९६ सय रुपैयाँ ८६ पैसाको खर्च तथा लगानीको स्रोत खुल्न नआएको हुँदा त्यस्तो खर्च तथा लगानी निजको पद र हैसियत अमिल्दो र अस्वभाविक देखिई उच्च जीवनयापन समेत गरेको देखिएकोले उनीविरुद्ध मुद्दा दायर गरिएको हो।

गैरकानूनी सम्पत्ति आर्जन सम्बन्धी भ्रष्टाचारजन्य कसुर भए गरेको देखिँदा राष्ट्रसेवक कर्मचारी काशी प्रसाद गुप्तालाई सजाय हुन माग दावी लिइएको र गुप्ताको एकासगोलकी पत्नी मिता गुप्ताले आफ्नो पतिको पदीय हैसियतको दुरूपयोग गरी गैरकानूनी रूपमा सम्पत्ति आर्जन गरेको जान्दाजान्दै त्यस्तो सम्पत्ति लुकाउने छिपाउने तथा दुरूपयोग गर्ने एवं भोग चलन गर्ने उद्देश्यले आफ्नो तथा आफन्तको नाममा कारोबार गरी आरोपी श्रीमानलाई गैरकानूनी सम्पत्ति आर्जन गर्ने तथा त्यस्तो सम्पत्तिलाई अवैध रूपमा लुकाउन छिपाउन सहयोग, दुरूत्साहन गर्ने समेत कार्यमा प्रत्यक्ष संलग्न रहेको भन्दै उनीविरुद्ध पनि मुद्दा दायर गरिएको हो।

साथै आरोपी गुप्ताले आफन्तहरु अन्जु कुमारी महतो, उदित नारायण प्रसाद रौनियार, चन्देश्वर महतो, धिरज कुमार गुप्ता, प्रिति कुमारी गुप्ता, डा रचना प्रसाद शाहा, विकास प्रसाद गुप्ता, विनय कुमार सिंह, विभा रानी, संगिता साह रौनियार र सन्तोष कुमार गुप्ताको नाममा खाता खोली १० करोड ४४ लाख ४३ हजार ७८३ सय रुपैयाँ ९८ पैसा लुकाई छिपाई राखेको देखिँएकाले उनीहरुविरुद्ध पनि मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *