जनप्रतिनिधिहरु कोरोनाको उच्च खोजिममा हुन्छन्

डिसी नेपाल
२६ भदौ २०७७ ८:४५

कोरोना भाइरसको संक्रमण यसैगरी भयो भन्न सक्ने केही पनि अवस्था छैन। हामी जनप्रतिनिधिहरु बाहिर हिँडिरहनु पर्ने कतै जाँदा संक्रमित भैयो होला भन्ने हो। हुन त मैले कुनै पनि ठाउँमा आफूले अपनाउनु पर्ने सजकता नअपनाएको भन्ने होइन।

सेनिटाइजर, मास्क तथा भौतिकदूरी कायम गर्ने सवालमा कुनैपनि कमी गरेको थिइन। हामी गाउँ जाने भन्ने कुरा भएको थियो। गाउँ जानु पूर्व चेकअप गरेर जानुपर्यो भन्ने भयो। हामी चेकअप गर्न गयौं। स्वास्थ्य परीक्षण गर्दा कोरोना पोजेटिभ आयो। मलाइ लागेको त थियो, कतै कोरोना संक्रमित भइयो कि भनेर।

किन कि मलाइ वाकवाक लाग्ने, खाना खान मन नलाग्ने, कुनै कुराका पनि स्वाद थाहा नहुने, गन्ध केही कुराको पनि नआउने भएको थियो। मोरङको डिएफओ साबलाई पनि त्यस्तै लक्षण थियो भन्ने सुनेकी थिएँ। मलाई पनि त्यस्तै लाग्यो। लक्षण त मिल्छ कतै संक्रमण भयो कि भन्ने लागेको थियो। म मानसिक रुपले तयार भएकी थिएँ।

कोरोना पोजेटिभ आएपछि एक छिन त आत्तिएँ। अब कता बस्ने भन्ने कुराले आत्तिएकी थिएँ। साइरन बजाउँदै एम्बुलेन्स आउँछ। पीपीइ लगाएका मान्छेले मलाइ एम्बुलेन्समा राखेर लैजान्छन् झैं लाग्यो। मैले झोला तयार गर्दै फोनमा कुराकानी गरेँ। स्वास्थ्यकर्मीको सल्लाह अनुसार होम आइसोलेसनको व्यवस्था हुन्छ कि भन्ने कुरा गरेँ।

म इटहरीमा भाडामा बस्ने मान्छे हुँ। मैले घरबेटीसँग पनि सोध्नु पर्ने थियो। स्वास्थ्यकर्मीहरुले होम आइसोलेसनमा बस्न सकिने सल्लाह पाएपछि मैले घरबेटीलाई सोधेँ। उहाँले पनि घरमै बस्न सकिने संकेत गर्नु भयो। अनि मैले सल्लाह गरेँ र होम आइसोलेसनमा बसेँ।

घरबेटीले घरमै बस्न अनुमति दिएपछि त म खुसीले आधा निको भएको अनुभव गरेँ। हुन त मलाइ रिपोर्ट आउँदासम्म सबै लक्षणहरु निको भएका थिए। म त यसै पनि ठिक छु झैं लागेको थियो। तर पनि घरबेटीले दिएको हौसलाले अझै पनि मलाइ निको भएको अनुभव गरायो।

म होम आइसोलेसनमा बसेपछि त्यो घरबाट कोही पनि बाहिर जानु भएन। र, कोही पनि भित्र आउनु भएन। सबैको परीक्षण भयो, मेरो श्रीमान, ठूलो नानी र म बाहेक कोही पनि पोजेटिभ देखिनु भएन। एकदिन पूर्ण आइसोलेसनमै बसियो।

इटहरीमा पहिला पहिला कोरोना निको भएकाहरुलाई समेत घर आउन दिइएको थिएन। समाजमा एकदमै तिरस्कार गरिन्थ्यो। कुनै ठूलै अपराध गरेको झैं व्यवहार हुन्थ्यो। हामीले त्यो समाजको व्यवहार परिवर्तन गर्नु पर्ने थियो। हामीले समाजमा कोरोना त्यस्तो भयावह होइन।

सजगता अपनायो भने कोरोनालाई सहजै जित्न सकिन्छ भनेर देखाउनु पर्ने थियो। समाजमा सजगताका कारण कोरोनाबाट मुक्त भएर देखाउनु थियो। समाजलाई सिकाउने जिम्मेवारी पनि एक जनप्रतिनिधिको भएको सम्झेँ।  पहिलो दिन त के भयो झैं भाएको थियो। पछि विस्तारै मैले आफूलाई समाजको लागि अग्रपंतिमा भएर समाजलाई सिकाउने अवसर दिएको अनुभव गरेँ। कोरोना जितेर नै देखाउनु पर्छ भन्ने मैले सोचेँ।

मैले भौतिकदुरी कायम गरेर साथीहरुलाई पनि भेट्ने समय दिँए। साथीहरु पनि आउनु भयो। हामी माथिबाट साथीहरु तल बसेर लामो समयसम्म कुराकानी गर्ने बातावरण बनायौं। अलिपछि त मिलाएर सँगै बस्नेसम्मको वातावरण पनि बनाएँ। त्यसको अर्थ थियो। भौतिक दुरी कायम गरेर बस्दा, सरकारले बनाएको स्वास्थ्य प्रोटोकललाई फलो गर्दा कोरोना सर्दैन भन्ने समाजमा देखाउनु थियो। समाजलाई कोरोनाको डरबाट मुक्त गर्नु थियो।

खाने कुरामा त त्यस्तो विशेष भन्ने केही हैन। नियमित खाने कुरा नै खाएँ। एक दिन औषधि खाएको थिएँ। श्रीमान र नानीलाई त सिटामोल पनि आवश्य भएन। तातापानीहरु, गुर्जो, बेसारपानी लगाएतको झोलिलो पदार्थ सबैले खाने हो।

त्यसैले मैले पनि यसलाई खाएँ र त्यो कुरालाई सहजरुपमा लिएँ। सबै भन्दा ठूलो कुरो त आत्मबल नै हो। आत्मबल बलियो बनायो भने सकारात्मक सोच राखियो भने कोरोना जित्न केही गाह्रो छैन।

हामीलाई मानसिक र शारीरिक दुवै तर्फबाट केही पनि असर परेन। सामाजिक सञ्जाल र फोनमा शिघ्र स्वास्थ्य लाभका कामना भन्ने शब्दहरुले अलिकति बिरामी हो की झैं लाग्थ्यो। तर, आफूलाई हेर्दा केही पनि भएन। मेरो व्यक्तिगत अनुभवले त कोरोनालाई केही हैन भन्यो।

तर, स्वास्थ्यकर्मीको कुरा सुन्दा यसले अरु रोगहरुलाई बढ्नमा सहयोग गर्ने भएकाले र रोग प्रतिरोधात्मक क्षमता कमी भएकाहरुलाई अलि गाह्रो गराउने भएका कारण दीर्घ रोगी, वा अन्य कुनैपनि रोग भएकाले अलिकति ख्याल गर्नुपर्छ।

स्वास्थ्य मन्त्रालयले बनाएको स्वास्थ्य प्रोटोकल अनुसार हामी तयार हुनुपर्ने, फलो गर्नुपर्छ। आत्तिनु हुन्न भन्ने लाग्यो। हामीले वृद्धवृद्धालाई र रोगीलाई कोरोनाको संक्रमणबाट बचाउन सक्यौं भने अहिलेको जस्तो डर हटदै जान्थ्यो भन्ने मेरो व्यक्तिगत बुझाइ हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *