नेपालमा कुन समुदायमा कोरोना फैलिने खतरा छ ? अनुसन्धानकर्ता ढलबाट पत्ता लगाउँछन्

डिसी नेपाल
२६ भदौ २०७७ १४:०३

काठमाडौं। नेपालमा कुन समुदाय कोरोनाभाइरस फैलिने सम्भावित जोखिममा छ भन्ने कुरा अनुसन्धानकर्ताहरुले ढलबाट पत्ता लगाउँछन् । स्रोत र साधनको कमीसँग जुधिरहेको न्यून आयस्तरको देश नेपालको लागि ढलको प्रयोग गरेर सम्भावित जोखिम पत्ता लगाउनु खर्चका दृष्टिले पनि निकै मितव्ययी छ । समाचार एजेन्सी एएफपीका अनुसार नेपालमा अनुसन्धानकर्ताहरुले नदीमा फालिने ढलको नमूना संकलन गरेर त्यसको जाँच गरि सम्भावित खतरामा रहेका समुदायको पहिचान गर्छन् ।

नेपालमात्र होइन विश्वभरी संक्रमणको प्रसार बढ्दै जाँदा कैयौं देशहरुले यो संक्रामक रोगका ‘ट्रेसेज’हरुका लागि फोहर पानीको विश्लेषण गरिरहेका छन् ताकि कुन समुदायले प्रकोपको सामना गर्न सक्छ भन्ने पहिचान गर्न सकियोस् । भूकम्पको क्षतिबाट अझै पूर्ण रुपमा उठ्न नसकेको र महामारीका कारण अर्थतन्त्र झनै ओरालो लागेको विपन्न मुलुक नेपालका लागि ढलको परीक्षण भाइरससँग जुध्नको लागि सस्तो हतियार बन्न सक्ने अपेक्षा गरिएको छ ।

‘जब तपाइँसँग स्क्रिनिङ र टेस्टिङका लागि उपलब्ध स्रोत र साधनहरु सीमित छन् त्यतिबेला यो हटस्पटहरु पत्ता लगाउने छिटो, सजिलो र सस्तो विधि हुन सक्छ’ अनुसन्धानको नेतृत्व गरिरहेको गैर सरकारी संस्था सेन्टर फर मोलिक्युलर डायनामिक्स नेपालका सह संस्थापक दिवेश कर्माचार्यले भने ‘तपाइँ त्यहाँ जान र विस्तृत स्क्रिनिङ गर्न सक्नुहुन्छ ।’ विश्व स्वास्थ्य संगठनका नेपाल प्रतिनिधि जोस भान्डेलरले पनि यसलाई पूर्व चेतावनी प्रणाली भनेका छन् ।

परीक्षण गरिएका अन्य देशहरुमा कोरोनाभाइरसको लक्षण देखिनुभन्दा ३ देखि ७ दिन पहिले नमूनाहरु पोजेटिभ देखिएको बताउँदै उनले यो विधिले छिटो चेतावनी पाउन सकिने बताए । कर्माचार्यको संस्था रोगहरुको परीक्षणका लागि व्यावक परीक्षण गर्न निपुण छ । केन्द्रले २०१८ मा मासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजीसँगको सहकार्यमा टाइफाइट भ्याक्सिन दिइएका क्षेत्रमा ढलबाट टाइफाइडको नमूना संकलन गरेको थियो ।

गएको जुनमा अनुसन्धानकर्ताहरुले काठमाडौं उपत्यकामा कोभिड १९ को लागि ढलको पानी परीक्षण गर्न सुरु गरेका थिए र ४ मध्ये २ क्षेत्र संक्रमणको जोखिममा रहेको पत्ता लगाएका थिए । जुलाइमा नेपालमा लकडाउन हटाइएपछि यहाँ संक्रमण दर बढिरहेको छ । अगष्टदेखि यहाँ प्रतिदिन औसतमा १ हजार पोजेटिभ केसहरु भेटिएका छन् ।

सरकारी निकाय नेपाल स्वास्थ्य अनुसन्धान परिषदले अहिले केन्द्रसँग सहकार्य गरेर ललितपुरमा ढलको पानीको परीक्षण गर्न थालेको छ जहाँ १ हजार भन्दा धेरै केसहरु भेटिएका छन् । एक पटक हामीले यसको नतिजा पाएपछि हामीले सरकारसँग सहकार्य गरेर यसलाई राष्ट्रव्यापी अभियानको रुपमा अगाडि बढाउने योजना बनाएका छौं’ परिषदका कार्यकारी प्रमुख प्रदीप ज्ञवालीले एएफपीसँग भने ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *