आवाज नआइपुग्ने मेघको उज्यालो
कुनै नौलो सपना देख्यौ कि ?
कि आफैभित्र डढिरहेको सगर देख्यौ ?
कि हजार बिन्ति गर्दा पनि
जुनेलोको बालाजस्तो तिम्रो हात
बेस्सरी झड्कारेर गयो कोही
कि भागेर आफू, आइपुग्यौ यहाँ ?
पक्कै, केही न केही त भएकै छ तिमीलाई
र त, यो अप्ठ्यारो मोडमा उभिएर
खुट्टाको बुढी औंलाले मेटाउँदै सिगरेटको खरानी
हेरिरहेछौ सूर्यास्त
तर बनिरहेछ धूलोमा अक्षरहरूको सूर्योदय ।
अहो ! यति सुन्दर देवालय शब्दको
विम्ब र प्रतीकहरूका बुट्टेदार झ्यालढोका
मिथकहरूका ध्वजापतका
अभिधा, लक्षणा र व्यञ्जनाका दीपहरू
लयको शङ्खनाद
विचारको स्वर्णजडित् गजुर
यत्रतत्र, अलङ्कारका पुष्पगुच्छा
रसको मगमग बास्ना
कविजी !
तर खोइ भगवान ?
मन्दिर आफै त भगवान होइन ।
भगवान त तिमीसँगै, आएका थिए यस धर्तीमा
त्यो क्षण
जब रोएका थियौ तिमी पहिलोपल्ट
तिम्रो आमाको रगत लत्पतिएको मजेत्रो
र आँसुसरिको मुस्कान भएका थिए भगवान
त्यसैले,–
चिम्ल आँखा
र एकपल्ट फर्क तिमी त्यहाँ…!
कि, कसरी बनाएका थियौ तिमीले
त्यही मजेत्रो च्यातेर पुतली
कसरी बनाएका थियौ स–साना ढुंगा र माटो जोडेर घर
कागजको रकेट र पानीजहाज
बाँसको सिटामा बिछ्याएर बनमाराका पातहरू
कसरी तारेका थियौ कमिलाका लस्करहरूलाई
फूलको बोटबाट तिनले उठाएको ढिकुरोसम्म ।
कसरी देखेका थियौ आकाशमा
पहाड, जंगल, नदी
बाघ, बाख्रा, सुँगुर
हराएकी दिदी तारा
र स्वर्गीय बाबा ?
सम्झ फेरि त्यो घटना…
कसरी मारिएका थिए ती मानिसहरू अन्याय नसहँदा
कसरी बगेको थियो रगतको भल विस्कून भिजाउँदै
र त्यही रगतको कुलो नाँघ्दै
खोल्सा र खोलाहरू फड्कँदै
गाढा रातो दंश बोकेर जीउभरि
चुपचाप – चुपचाप…
यो सहर पसेका थियौ तिमी ।
… … …
युवाकवि !
कविता त आइदिन्छ अनयास
जतिबेला यी शब्दहरू–
तिम्रो साथमा नभएका हुनसक्छन्
जतिबेला तिमी,
जिन्दगीको अनुप्रास मिलाउन
आइरन लगाइरहेका हुन सक्छौ कमिजमा
तर त्यतिबेलै,–
समयको धागो फुस्केर खस्नसक्छ टाँक
अफसोस् !
तिमी नभ्याउन सक्छौ कविता टिप्न
कुन कुना, कुन चेप
डस्टविनभित्र, डस्टविनबाहिर
कि डस्टविनमुनि ?
खोज्दा – खोज्दै
छुट्नेछ अफिस, हराउनेछ कविता ।
कविता त एक निमेष उज्यालो हो
जसलाई तिमी,–
पक्रिन सक्छौ, पक्रिरहन सक्दैनौ
जब पक्रिरहेको छु लाग्नेछ तिमीलाई
त्यो त सर्प होइन, काँचुली हो
जब फुर्सदमा खेलाउने छौ शब्दहरूलाई
त्यो त कविता होइन, प्रपञ्च हो
आग्रह हो, पूर्वाग्रह हो
भविष्यका लागि कुनै चमक होइन, मात्र इतिहासको कस हो
कि त तिम्रो अहम् हो, कि तिम्रो लघुताभास हो ।
यसरी,–
आफ्नै कवितामाथि, आफैद्वारा
यति डरलाग्दो हिंसा भइसक्दा पनि, कुनै सुइँको नपाएर
पाठकहरूले वास्ता गरेनन् भन्दै, क्रुद्ध हुनसक्छौ तिमी
तब,–
पर्यावरणसम्बन्धी तिमीले लेखेको तातो कविता
झन् प्रदूर्षित भइदिन सक्छ चिसा श्रोताहरूमाझ ।
कविता त
कुनै चोकबजार, बसपार्क
वा, सिनेमा हल छुटेको समय
ठेलमठेल हिँडिरहेका बेला
निकै पर पुगिसकेको, तर चिनेजस्तै लाग्ने
अपरिचित अनुहारको विलाइजाने मुस्कानमा
मिलिक्क आइदिन सक्छ
अथवा,–
गाउँको कुनै गोरेटो, सहरको कुनै सडकमा
एक्लै टहलिरहेका बेला
कहाँनिर पुगेँ भन्ने बिर्सिंदा
आवाज नआइपुग्ने मेघको उज्यालो जस्तै
झिलिक्क आइदिन सक्छ
थाकेर,–
खेतको डिलमा सुर्ती सल्काइरहँदा
वा, बिँडी तानिरहेका बेला धुवाँ भएर
अथवा, कारखानामा गह्रौं मेसिन घुमाइरहेका बेला
पसिनाको पिरोले आँखा पोल्दा
बालबच्चाझैं अघिल्तिर
थपक्क आइदिन सक्छ ।
अथवा,–
जूनघामको गोलो, रोटीको गोलो
सपनाको गोलो, कल्पनाको गोलो
वा, दूध पुर्याउन देहातबाट
सहरतिर दौडिरहेको साइकलको गोलो
अथवा,–
गयल हुने डरले
स्कूलतिर दौडिरहेकी केटीको गोडाले बनाइरहेको गोलो
जसलाई,–
जब तिमी देख्छौ जीवनचक्र
त्यही क्षण, बस् त्यही क्षण
आइदिन सक्छ कविता ।
सलहजस्तो हूल कसेर
कोरोनाजस्तो छल गर्दै
बाढीजस्तो वितण्डा मच्चाउँदै
वा, पहिरोजस्तो पृथिवी पल्टाउँदै
आउँदैन कविता ।
ऋतुजस्तो पहिरन फेर्दै
गीतजस्तो भाका हाल्दै
जुलुसजस्तो नारा घन्काउँदै
वा शुभकामनाजस्तो प्रेमपूर्वक
आउँदैन कविता ।
खोइ केले
जब तिम्रो पैतलामा चस्स बिझाउँछ
खोइ केले
जब तिम्रो टाउकोमा नमीठो झड्का लाग्छ
खोइ केले
जब तिम्रो हृदय
कोलमा उखुझैं चेपिन्छ बेस्सरी
यस्तो बेला,–
आफ्नै आँखाका रक्तकोषिकाहरू फुटेजस्तो लागेर
रगताम्मे देख्छौ तिमी आफैलाई
बस् यही बेला
रगत चाट्न आएको चोर बिरालोझैं
लुसुक्क आइदिन सक्छ कविता ।
कोही नभएका ठाउँमा
जब देख्छौ तिमी कसैलाई
सहस्र भएका ठाउँमा
जब देख्दैनौ तिमी कसैलाई
तब, सूर्योदय हुनथाल्नेछ तिमीभित्र
गहतका मुनाझै,–
अङ्कुराउन थाल्नेछन् वीजहरू सम्भावनाका ।
अहो ! रातको यो अन्तिम प्रहर
कविता आइपुग्ने ठिक समय यही हो
लौ, फेरि तिमी अक्षरहरूको भिड लगाऊ !
र बनाऊ आकृति भूइँमा, क्षितिजमा, आकाशमा
तर होशियार होऊ !
कि, भुसुनो भएको हनुमानझै
वा, बहकिहिँडेको वायुझै
वा, भर्खरै यशोधरा बिर्सिएको सिद्धार्थझै
तिमी ओत लागेको यो समीको रुखका पातहरू हल्लाउँदै
सुटुक्क आइदिन सक्छ कविता
तिमी त्यसलाई पक्र
र शब्दको देवालयमा स्थापना गर !
ओ युवाकवि !
तिम्रो काव्यको प्रकाशले मेरो प्रस्थान वरिपरि
मिर्मिरे भइसकेछ लौ !
मैले पुग्नुछ अर्को कविको प्रदेशमा
मलाई विदा देऊ ! दिइहाल !
किनभने,–
मेरो बिदाई र मेरो सम्झनाबीच
झल्मलाइरहेको तिम्रो वेदनाको स्वयम्भूमा
पहिलोपल्ट,–
सीमाहीन समयको घण्ट बज्नेवाला छ
माने घुम्नेवाला छ ।
Facebook Comment