खानेपानी विभागको पहिलो महिला महानिर्देशकमा मीना श्रेष्ठ नियुक्त
काठमाडौं। नेपालभर खानेपानी र ढल व्यवस्थापनको जिम्मेवारी बोकेको खानेपानी तथा ढल व्यवस्थापन विभागले इतिहासमै पहिलो महिला महानिर्देशक पाएको छ।
करिव पाँच दशक लामो इतिहास बोकेको विभागमा खानेपानी मन्त्री बीना मगरले पहिलो महिला महानिर्देशकको रुपमा मीना श्रेष्ठलाई नियुक्त गरेकी हुन्। यसअघि श्रेष्ठ विभागको उप महानिर्देशक पदमा कार्यरत थिइन्।
यसअघिका विभागका महानिर्देशक सुनिल कुमार दास मन्त्रालय सरुवा भएसँगै विभागमा श्रेष्ठलाई नियुक्त गरिएको हो। श्रेष्ठले शुक्रबारदेखि नै आफ्नो जिम्मेवारी सम्हालेको मन्त्रालयका सहसचिव तथा प्रवक्ता रितेशकुमार शाक्यले जानकारी दिए। खानेपानी विभागको उपमहानिर्देशकमा कार्यरत श्रेष्ठलाई खानेपानी मन्त्रालयको शुक्रबारको बैठकले महानिर्देशकमा पदस्थापन गर्ने निर्णय गरिएको खानेपानी मन्त्रालयका प्रवक्ता शाक्यले बताए। श्रेष्ठ, खानेपानी विभागमा कार्यरत सहसचिव मध्ये वरिष्ठ हुन्। ‘उहाँलाई वरिष्ठताको आधारमा खानेपानी तथा ढल व्यवस्थापन विभागको महानिर्देशकमा पदस्थापन गर्ने निर्णय गरिएको हो,’ प्रवक्ता शाक्यले भने।
मीना श्रेष्ठ, खानेपानी विभागको करिब ५० बर्षे इतिहासमै महानिर्देशकमा नियुक्त पहिलो महिला हुन्। नेपाल भित्र खानेपानी र ढल व्यवस्थापन सम्बन्धी सेवा सञ्चालनको व्यवस्था गर्न २०२९ सालमा खानेपानी तथा ढल व्यवस्थापन विभाग स्थापना गरिएको थियो। त्यस यता थुप्रै महानिर्देशकहरु परिवर्तन भए पनि श्रेष्ठ नै पहिलो महिला महानिर्देशक बन्न सफल भइन्।
वरिष्ठताको आधारमा पनि अगाडि रहेकी श्रेष्ठलाई महानिर्देशक नियुक्त गरेर मन्त्रालयले सकारात्मक सन्देश दिएको छ।
यसअघि सिभिल इन्जिनियरको रुपमा श्रेष्ठ भवन विभागमा कार्यरत थिइन्। उनले विसं २०५३ देखि सरकारी सेवामा प्रवेश गरेकी थिइन्।
Facebook Comment