कालोबजारीलाई सहयोग पुर्‍याउन स्वास्थ्यका कर्मचारीको चलखेल, बंगलादेशले ताकेता गरेपछि सेनाले ल्यायो कोरोनाको औषधि

डिसी नेपाल
२७ भदौ २०७७ २३:२७

काठमाडौं । बंगलादेश सरकारले दिने भनेको कोरोनाको औषधि सेनाको जहाजमार्फत शनिबार काठमाडौं ल्याइएको छ। नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले कोरोनाका विरामीको उपचारमा प्रयोग हुने रेमडेसिभिर औषधि शनिबार ५ हजार डोज ल्याएइको जानकारी दिए।

सो औषधि ल्याउनेबारे ३ हप्तासम्म नेपालले बेवास्ता गरेपछि फेरि बंगलादेश नै ताकेता गर्नुपरेको थियो। त्यसपछि सो औषधि लिन नेपाली सेनाको जहाज शनिवार ढाका पठाइएको हो। स्वास्थ्य मन्त्रालयबाट औषधिका दलालहरुलाई ३ हप्तासम्म समय दिएर उनीहरुको औषधि बिक्री भइसकेपछि मात्रै बंगलादेशले दिने भनेको औषधि ल्याउन नेपाली सेनालाई भनिएको खुलासा भएको छ। सेनालाई आग्रह गरिएको केही घण्टामै सेनापतिले औषधि ल्याउनका लागि जहाज बंगलादेश उडाउन आदेश दिएका थिए।

नेपालमा कोरोनाको उपाचारका लागि उपयोगी हुनसक्ने भनी प्रमाणित गरिएको रेमडेसिभिर नामको औषधि कालोबजारी हुंदै आएको छ। अन्तर्राष्ट्रिय बजारमा निकै सस्तो पर्ने सो औषधिको मूल्य हजारौं लिने गरी कालोबजारी भएपछि प्रधानमन्त्रीकै तहबाट कुरा गरी बंगलादेश सरकारबाट निःशुल्क रुपमा उपलब्ध हुने बतावरण मिलेको थियो। तर, स्वास्थ्य मन्त्रालयको कर्मचारीतन्त्रले प्रधानमन्त्रीको सदिच्छालाई पनि ३ हप्तासम्म रोकेर राखिदियो। समाचारअनुसार, बजारमा औषधिका केही ठेकेदारहरुले ल्याएको सो औषधिको स्टक बाँकी नै भएकाले सो नसकिएसम्म समय मिलाइदिने उद्देश्यले स्वास्थ्य मन्त्रालयको कर्मचारीहरुले तत्काल लिन आउनु भनेको औषधिका लागि ३ हप्ता अल्झाइदिएका थिए।

जव बंगलादेशले नै तीन हप्तादेखि औषधि तयारी अवस्थामा राखिएको जानकारी फेरि पनि दिएपछि बल्ल स्वास्थ्य मन्त्रालयका सचिवले उडानको व्यबस्था मिलाउने प्रयास शुरु गरेका थिए। स्वास्थ्य मन्त्रालयका सचिवले शुक्रबार साँझ रक्षा मन्त्रालयका सचिवलाई फोन गरी औषधि ल्याउन सेनाको जहाज पठाउनेबारे प्रस्ताव गरेको र रक्षासचिवले त्यसैदिन प्रधान सेनापति पूर्णचन्द्र थापासँग छलफल गरेका थिए। रक्षा मन्त्रालयको एक उच्च सूत्रका अनुसार, रक्षासचिव र सेनापतिबीचको छलफलपछि सेनापतिले तत्काल जहाज बंगलादेश उडाउने आदेश दिएका थिए र शनिवार दिउँसो नै सेनाको स्काइट्रक जहाज सो औषधि लिन ढाका उडाइएको थियो।

मुलुकलाई महामारीको अप्ठेरो परेको बेला कालोबजारी गर्ने व्यापारीहरुको साथ लागेर प्रधानमन्त्रीको औषधि ल्याउने प्रयासलाई पनि तीनहप्ता हल्लाइदिन सक्ने स्वास्थ्य मन्त्रालयको कर्मचारीतन्त्र कति बलवान रहेछ भन्ने यो घटनाले प्रमाणित गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *