सिन्धुपाल्चोकका जोखिम वस्तीहरुलाई सुक्षित स्थानमा सार्न राष्ट्रपतिको ध्यानाकर्षण

डिसी नेपाल
२८ भदौ २०७७ १८:२७

काठमाडौं। सिन्धुपाल्चोक जिल्लामा यो वर्ष बाढी पहिरोले लगातार मानवीय क्षति भएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले त्यहाँका जोखिममा रहेका वस्तीहरुलाई सुक्षित स्थानमा सार्न सम्वद्ध पक्षको ध्यानाकर्षण गराएकी छन्। शनिबार राती सिन्धुपाल्चोकका दुई वटा स्थानमा पहिरोले ठूलो जनधनको क्षति गरेपछि आइतबार साँझ राष्ट्रपति भण्डारीको यो भनाई आएको हो।

उनले सामाजिक सञ्जाल ट्वीटरमा लेखेकी छन्, ‘२०७२ को भूकम्पबाट देशका विभिन्न भाग थङ्थिलो बनेकामा सिन्धुपाल्चोक लगातार पहिरोको जोखिममा परिरहेको छ । त्यहाँ फेरि पहिरोबाट जनधनको क्षति भएकोमा दुःखी भएको छु । भौगोलिक सम्वेदनशीलताको अध्ययन गरी जोखिमयुक्त वस्ती सुरक्षित क्षेत्रमा स्थानान्तरण गर्न सम्बद्ध पक्षको ध्यानाकर्षण गर्दछु।’

शनिबार राती गएको पहिरोमा परी आइतबार साँझसम्म ११ जनाको मृत्यु भएको पुष्टि भइसकेको छ। बाह्रबिसे–७ घुम्थाङमा पहिरोमा पुरिएका ११ जनाको शव भेटिएको छ। इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक नवराज न्यौपानेले मृतक सबैको सनाखत भएको जानकारी दिए । नागपुजे र भीरखर्कको पहिरोमा ज्यान गुमाउनेमा ६२ वर्षीया भक्तिमाया श्रेष्ठ, ९८ वर्षीया ट्याक्सी शेर्पा, २३ वर्षकी जुनु विक, २४ वर्षका शुकलाल विक, ८ वर्षका सन्देश विक, ६० वर्षीया सर्किनी नेवार र ६५ वर्षका धनलाल विक रहेका छन् ।

मृतकमा ६० वर्षीया हिरामाया नेवार, ४२ वर्षकी ज्ञानीमाया प्रधान, २५ वर्षका कर्णबहादुर श्रेष्ठ र ५ वर्षकी सरस्वती विक छन् । पहिरोमा बेपत्ता भएका ३१ मध्ये २० जना बेपत्ताको उद्धारकार्य जारी छ । क्षतिको विवरण सङ्कलन भइरहेको पनि न्यौपानले जानकारी दिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *