दुर्घटना न्यूनीकरण गर्न सडकको स्तारोन्नति हुँदै

डिसी नेपाल
३१ भदौ २०७७ १८:०२

डडेल्धुरा । सडक दुर्घटना न्यूनीकरण गर्न डडेल्धुरामा सडक स्तरोन्नतिको काम थालिएको छ ।

सडक दूरावस्थाका कारणले पनि धेरै दुर्घटना हुने गरेको हुँदा त्यसको न्यूनीकरणका लागि भीमदत्त राजमार्गको स्तरोन्नतिको काम थालिएको हो । यो राजमार्गले सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्ला र तराईका दुई जिल्लालाई जोड्छ ।

भीमदत्त राजमार्गको हगुल्टेलेदेखि डडेल्धुरा सदरमुकामसम्म सडकको मोड सुधार गरी स्तरोन्नतिको काम भइरहेको छ । त्यस्तै साहुखर्कदेखि डडेल्धुरा बागबजारसम्मको करिब ३० किलोमिटर सडकको मोड सुधारका लागि तीन भागमा विभाजन गरेर बोलपत्र आह्वान गरी काम शुरु गरिएको सडक डिभिजन कार्यालय कुलपाते डोटीका सूचना अधिकारी इन्जिनीयर वीरेन्द्र चन्दले बताए । उनले भने, “सङ्घीय सरकारको करिब रु तीन करोडको लगानीमा भिमदत्त राजमार्गअन्तर्गत सडकका मोडहरु सुधार तथा सदरमुकाम बसपार्क नजिक ग्याभिङवाल लगाउने काम भइरहेकोे छ ।” पहिलो चरणमा सडक स्तरोन्नतितर्फ मोड सुधारको काम भइरहेको र दोस्रो चरणमा बोलपत्र आह्वान गरी सडक नाली तथा कालोपत्र गर्ने काम अगाडि बढाइने उनले बताए ।

यो राजमार्ग भएर दैनिक हजारौंको सङ्ख्यामा मालबाहक ट्रक तथा अन्य साना ठूला सवारी साधनहरु सञ्चालन हुने गरेका छन् । सडक साँघुरो हुनुका साथै विपरित दिशाबाट आउने यातायातका सवारी साधन अग्ला र घुम्तिले नदेखिदाँ वर्षेनी दुर्घटना हुनेमा वृद्धि हुँदै गएको सवारी चालक दिपक भट्टराईले बताए ।

रोड इजाजत नपाएका सडकमा सवारी गुड्न नदिने र सडक मर्मत सम्भारलाई उच्च प्राथमिकतामा राखेर दुर्घटनामा कमी ल्याउने कार्य भइरहेको बताइएको छ । सडक दुर्घटना न्यूनीकरणका लागि चालकलाई तालिम दिने र अनुगमनमा कडाइ गरिने सुदूरपश्चिम प्रदेश ट्राफिक कार्यालय अत्तरियाका सुचना अधिकारी मोहन साउदले बताए । उनका अनुसार आर्थिक वर्ष २०७४/०७५ देखि २०७६/७७ सम्म भिमदत्त राजमार्गलगायत सुदूरपश्चिमका अन्य राजमार्गमा ९२१ सवारी साधन दुर्घटना हुँदा ५३२ जनाले ज्यान गुमाएका थिए भने ५७४ जना गम्भीर घाइते र ५९३ जना सामान्य घाइते भएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *