महिला अधिकार र स्वास्थ्यको लागि गठित अन्तर्राष्ट्रिय उच्चस्तरीय आयोगमा बन्दना राणा
काठमाडौं। राष्ट्रिय महिला आयोगकी पूर्व अध्यक्ष तथा नेपाली महिला अधिकारकर्मी बन्दना राणा महिला अधिकारको लागि गठित अन्तर्राष्ट्रिय उच्च स्तरीय आयोगकी सदस्यमा मनोनित भएकी छिन् । जनसंख्या र विकासका लागि अन्तर्राष्ट्रिय सम्मेलन (आइसीपीडी)को २५ वर्ष पुगेको अवसरमा गत वर्ष भएको नैरोबी सम्मेलनमा तय गरिएका एजेण्डा पूरा गर्नको लागि गठित यो आयोगमा नेपालकी राणा पनि मनोनित भएकी हुन् ।
केन्याको नैरोबीमा भएको ‘आइसीपीडी २५’ नाम दिइएको नैरोबी सम्मेलनमा तय गरिएका एजेण्डाहरु पूरा गर्नको लागि एक उच्चस्तरीय आयोग गठन गर्ने त्यतिबेलै तय भएको थियो । कोरोनाभाइरस महामारीको समयमा महिलाहरु परिवार नियोजन, गर्भवती स्याहार जस्ता आधारभूत सेवाबाट समेत बञ्चित हुनु परेको अवस्थामा यो सम्मेलनले तय गरेका दिशानिर्देशअनुसारका कामहरु निरन्तर रुपमा अगाडि बढुन् भन्ने उद्देश्यले अधिकारकर्मीहरु, विशेषज्ञ र अभियन्ताहरुको उच्च स्तरीय आयोग गठन भएको हो ।
यो अभियान संचालनका लागि नैरोबी सम्मेलनले विभिन्न सरकार, निजी क्षेत्र, संघ संस्था र अन्य क्षेत्रबाट प्रतिबद्धताको रुपमा अर्बौं डलर रकम सुरक्षित गरिसकेको छ । सम्मेलनले १० वर्षभित्र तीन शून्य, परिवार नियोजनका साधनसम्म पहुँच नभएका महिलाको संख्या शून्य, रोक्न सकिने मातृ मृत्युदर शून्य र लैगिक आधारमा हुने हिंसालाई शून्य बनाउने लक्ष्य राखेको छ । अहिले गठन गरिएको उच्च स्तरीय आयोगले यिनै लक्ष्य हासिल गर्न काम गर्नेछ ।
नैरोबी सम्मेलनको वेबसाइटमार्फत जारी गरिएको विज्ञप्तिअनुसार यो उच्चस्तरीय आयोगमा २८ सदस्य छन् । तीमध्येकी एक बन्दना राणा हुन् । विज्ञप्तिका अनुसार यो आयोगको अध्यक्षता तान्जानियाका पूर्व राष्ट्रपति जाकाया किक्वेते र क्यानडाकी २७ औं गभर्नर जनरल मिशेल जीनले गर्नेछन् । यसका सदस्यहरु देशका पूर्व प्रमुखदेखि तल्लो तहका अभियन्ताहरु र युवाहरुसमेत समावेश छन् । यो आयोगले नैरोबी सम्मेलनमा गरिएका १ हजार २५० प्रतिबद्धता पूरा भए–नभएको अनुगमन गर्दै पूरा गराउनको लागि आवश्यक काम गर्नेछ ।
Facebook Comment