विदेशमा काम गरिरहेका डाक्टर भन्छन्- ‘देश बाहिर रहेपनि नेपाल र नेपालीको सेवामा खटिएका छौँ’
![विदेशमा काम गरिरहेका डाक्टर भन्छन्- ‘देश बाहिर रहेपनि नेपाल र नेपालीको सेवामा खटिएका छौँ’](https://www.dcnepal.com/wp-content/uploads/2020/09/119989194_3140839136013496_1007412523276144465_n.jpg)
काठमाडौं। विश्वका विभिन्न मुलुकमा काम गरिरहेका नेपाली डाक्टरहरुले देश बाहिर रहेननि आफूहरुले नेपाल र नेपालीको सेवामा खटिरहेको बताएका छन् ।गैरआवासीय नेपाली संघ (एनआरएनए) दोस्रो विश्व स्वास्थ्य सम्मेलनको अन्तिम दिन आयोजना गरिएको ‘रेजनल हेल्थ टिम एण्ड देअर रोल्स’ विषयक भर्चुअल अन्तरक्रियात्मक कार्यक्रममा विश्वका विभिन्न मुलुकमा कार्यरत डाक्टरहरुले आफूहरु विश्वका जुनसुकै मुलुकमा रहेता पनि नेपाल तथा नेपालीहरुका लागि सक्दो सहयोग पुर्याएको बताएका हुन्।
कार्यक्रममा बोल्दै डा.बोधा सुवेदी (युरोप हेल्थ टिम) ले युरोपमा सिकेको सीप तथा ज्ञानको प्रयोग नेपालमा कसरी गर्ने भनेर युरोपमा हेल्थ टिम गठन गरिएको बताए।
‘हामीले युरोपमा भएका विभिन्न स्वास्थ्यकर्मीहरुलाई समेटेर अगाडी बढेका छौँ । यहाँ सिकेका ज्ञानलाई नेपालमा कसरी प्रयोग गर्न सकिन्छ भनेर हामीले स्वास्थ्य टिम गठन गरेका थियौँ’ उनले भने । फेसबुक, जुमलगायत माध्यमबाट पनि संसारभरका नेपालीहरुलाई आफूहरुले सक्दो सहयोग पुर्याएको तथा सचेतनाका कार्यक्रमहरु उर्जागर गरेको उनको भनाइथियो।
कार्यक्रममा बोल्दै डा. नितेश अर्याल (मध्यपूर्व हेल्थ टिम) ले मध्यपूर्वका मुलुकहरु साउदी, कतार, युएई, कुवेत लगायत मुलुकमा नेपाली स्वास्थ्यकर्मीहरुको संख्या एकदमै कम रहेको बताए । यी मुलुकहरुमा नेपालीको संख्या बढी भएको तर स्वास्थ्यकर्मीहरुको संख्या कम हुनु दुःखद् भएको उनको भनाइ थियो।
खाडीमा रहेका अधिकांश नेपाली श्रमिकहरुमा चेतनाको अभाव हुँदा पनि कोरोना नबुझ्ने हुँदा डराउने, आत्तिने समस्या भएको उनले उल्लेख गरे । आफूले सक्दो रुपमा नेपालीहरुलाई सचेतना तथा परामर्शका कार्यक्रमहरु गरेको जानकारी दिए।
त्यसैगरी डा. एलिनी पोख्रेल (पोल्याण्ड) ले समयमा नै एनआरएनएको उच्चस्तरीय समितिको निर्देशनअनुसार आफूसहित युरोपमा रहेका स्वास्थ्यकर्मीहरुले कोरोना भाइरससँग लड्न र नेपालीहरुलाई सहयोग गर्न उल्लेख्य भूमिका खेलेको बताए।
उक्त भर्चुअल कार्यक्रममा डा. सरिता भट्टराई (अफ्रिकन हेल्थ टिम), डा. बोधा सुवेदी (युरोप हेल्थ टिम), डा. नितेश अर्याल (मध्यपूर्व हेल्थ टिम), डा.भुपेश खड्का (अमेरिका), डा. रमेश खोजु (यूके), डा. भुपेन्द्र बस्नेत, डा. पुनम पन्त (अस्ट्रेलिया), डा. एलिनी पोख्रेल (पोल्याण), डा सुनिल शाह (यूके) लगायतले आफ्नो धारणा राखेका थिए।
अधिकांशले आफू विश्वका जुनसुकै मुलुकमा भए पनि नेपाल र नेपालीहरुलाई साथ र सहयोग पुर्याउने प्रतिबद्धता ्जनाएका थिए । त्यस्तै अस्ट्रेलियाबाट एनएमडिएकी प्रतिनिधि पुनम पन्तले समेत आफ्नो धारणा राखेका थिए।
उक्त कार्यक्रमको संयोजन स्वास्थ्य समितिका अध्यक्ष डा. संजिव सापकोटा र डा. कुश श्रेष्ठले गरेका थिए ।
महामारीमा खटिएका नर्स भन्छन्- ‘निडर भएर संक्रमितहरुको सेवा गर्याैँ’
दोस्रो विश्व स्वास्थ्य सम्मेलनका अवसरमा आइतबार आयोजित ‘कोरोना महामारीमा नर्सहरुको भूमिका’ विषयक कार्यक्रममा नेपाल लगायत विश्वका विभिन्न मुलुकमा फ्रन्ट लाइनमा खटिएर काम गरेका स्वास्थ्यकर्मीहरुले आफ्नो अनुभव साटासाट गरेका छन् ।
महामारीमा पनि आफूहरु सक्रिय भएर निडर रुपमा संक्रमितहरुको हेरचाह गरको उल्लेख गरे ।त्यस्तै संक्रमितहरुको मनोबल बढाउन समेत आफूहरुले सक्रिय भूमिका निर्वाह गरको उनीहरुको धारणा थियो।
महामारीसँग जुध्न थुप्रै चुनौती रहे पनि चुनौतीका बीच आफूहरुले सक्दो रुपमा सहयोग पुर्याएको उनीहरुले उल्लेख गरे ।
कार्यक्रममा नेपाल नर्सिङ एशोसिएसनकी अध्यक्ष मनाकुमारी राइ, अन्जु बञ्जाडे (अमेरिका), डा. तारा शाह, दुर्गालक्ष्मी श्रेष्ठ, सरस्वती शाह, सुन्दरी लामा, गंगा खनाल, लिलानाथ पाण्डे, सावित्रि रानाभाट, मनिता मालाकार (अस्ट्रेलिया), विनोद विकास सिम्खडा, कल्पना घिमिरेलगायतले आफ्नो धारणा राखेका थिए।
कार्यक्रममा एनआरएनए महिला कोअर्डिनेटर भोमादेवी लिम्बुले समेत आफ्नो धारणा राखेकी थिइन्।
पसुन्ना कडेलले संचालन गरेका उक्त कार्यक्रममा २० भन्दा बढी मुलुकमा रहेका १ सयभन्दा बढी नर्सहरुको उपस्थिति थियो। त्यस्तै अन्य विभिन्न स्वास्थ्यकर्मी तथा सरोकारवालाहरुको समेत उल्लेख्य उपस्थिति थियो।
Facebook Comment