मापदण्ड विपरित नुवाकोटमा नदिजन्य श्रोतहरुको उत्खनन गर्न दिँदैनौ : प्रजिअ ढकाल
नुवाकोट। नुवाकोटका प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले नुवाकोटमा मापदण्ड विपरित नुवाकोटमा नदिजन्य श्रोतहरुको उत्खनन गर्न नदिने बताएका छन्। नुवाकोटका जनप्रतिनिधिहरुले अवैध रुपमा चलेका क्रसर खोल्नुपर्ने बताएपछि सिडिओ ढकालले अवैध क्रसर कुनैपनि हालतमा चल्न नदिने बताएका हुन्।
सोमबार विदुरमा आयोजित नदी तथा खानीजन्य स्रोतहरुको संकलन उपयोग र व्यवस्थापन सम्बन्धी जिल्लास्तरीय समन्वय बैठकमा बोल्दै प्रजिअ ढकालले जिल्लाका खोलाहरुमा गलत क्रियाकलाप हुन नदिने बताएका हुन्। जिल्लाका स्थानीयतहका जनप्रतिनिधिहरुले बन्द गरिएका क्रसर तत्काल खोल्नुपर्ने माग गरेपछि प्रजिअ ढकालले आफुले सर्वोच्च अदालत र प्रधानमन्त्री कार्यालयको आदेश कार्यान्यन गरेको भन्दै प्रहरी र प्रशासनले आदेश कार्यान्यन मात्र गरेको बताए।
उनले स्थानीय तहका जनप्रतिनिधिहरुले व्यवहारिकता हेरेर काम गर्न आग्रह गरेको भन्दै कानुनले व्यवहारिकता हेर्न नसक्ने बताएका हुन्। उनले बजार अनुगमन गर्न जाँदा हल्ला गरेर जान नसकिने भन्दै क्रसरमा ताला लगाउने समयमा सबैलाई खबर गर्न जरुरी रहेको बताए।
यसअघि नुवाकोट प्रहरीले जिल्लाको तादी र त्रिशुली नदिमा अवैध रुपमा चलेका क्रसरमा सिल गरेको थियो ।
Facebook Comment