सक्रिय सङ्क्रमित २५ हजार नाघे पुनः बन्दाबन्दी
काठमाडौँ। कोरोना भाइरस (कोभिड–१९)का सक्रिय सङ्क्रमितको सङ्ख्या २५ हजार नाघेको अवस्थामा पुनः लकडाउन हुने भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशमा २५ हजार सक्रिय सङ्क्रमित नाघे पुनः बन्दाबन्दी गर्न सिफारिस गर्ने निर्णय गरेको हो। अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या १७ हजार हाराहारी मात्र छ।
मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले इन्सिडेन्ट कमान्ड सिस्टम (आईसीएस)को बैठकले सक्रिय सङ्क्रमित २५ हजार नाघेको अवस्थामा पुनः लकडाउन गर्नसक्ने निर्णय गरेको जानकारी दिए। बुधबार नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या १७ हजार ४१४ छ।
प्रवक्ता गौतमले २५ हजारभन्दा बढी सक्रिय सङ्क्रमित रहेको खण्डमा नेपालको हालको स्वास्थ्य संयन्त्रले सङ्क्रमण नियन्त्रण गर्न समस्या हुनसक्ने भन्दै पुनः बन्दाबन्दी गर्ने निर्णय गरेको बताए। बैठकले पछिल्लो समय सङ्क्रमण दर
बढ्नुका साथै जोखिम उच्च रहेकाले जनस्वास्थ्यको मापदण्ड पालना हुन नसक्ने खालका सबै सेवा र व्यवसाय कम्तीमा एक महिना नखोल्न सिफारिस गर्ने निर्णय गरेको छ। गाेरखापत्र दैनिकले खबर लेखेकाे छ।
Facebook Comment