भारतीय बजारमा सामान किन्न गए १४ दिन क्वारेन्टिनमा बस्नु पर्ने
काठमाडाैं। जिल्ला प्रशासन कार्यालय मोरङले भारतीय बजारमा किनमेलका लागि जाने नेपालीलाई दुई साता क्वारेन्टिन बस्नु पर्ने नियम लागू गरेको छ।
कारोना भाइरसको रोकथाम र नियन्त्रणका लागि नेपाल–भारतको सीमा नाका शिल गरिएको भएपनि सुरक्षाकर्मीको आँखा छलेर विराटनगरको सिमावर्ती बजार जोगबनी जाने क्रम नरोकिएपछि स्थानीय प्रशासनले क्वारन्टिनमा बस्नु पर्ने नियम लागू गरेको हो।
नजिकिँदै गरेको चाडबाडसँगै उपभोक्ताहरु दैनिक उपभोग्य वस्तुदेखि विभिन्न सामाग्री खरिद गर्न जोगबनी जाने गरेका मोरङका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुब खड्का जानकारी दिए। ‘ नेपाली उपभोक्ताको बुझाई के छ भने भारतीय बजारमा सामान सस्तो पाउँछ भन्ने रहेको छ,’ उनले भने।
भारतमा कोरोना संक्रमणको दर व्यापक बनिरहेको बेला भारतीय बजार जानेप्रति प्रहरीले थप कडाई गर्ने भएको छ। प्रहरीको आँखा छलेर भारतीय बजार गएर नेपाल प्रवेश गर्नेलाई सुरक्षामा खटिएका प्रहरीले नियन्त्रणमा लिएर क्वारेन्टिनमा लगेर राख्न थालेका छन्। प्रदेश १ को चार वटा नाका अनुमति लिएर नेपाल प्रवेश गर्ने बाहेक अन्यलाई प्रहरीले क्वारेन्टिनमा राख्न थालेको हो।
प्रदेश १ को अहिले मोरङको जोगबनी, सुनसरीको भन्टावरी, झापाको काँकडभिट्टा र इलामको पशुपतीनगर नाका बाहेक अन्यत्रबाट आवतजावतमा पूर्ण रुपमा रोक लगाइएको छ। यी नाका प्रयोग गर्दा पनि स्थानीय प्रशासनको अनुमति चाहिन्छ।
सरकारले तोकेको नाकाबाहेक अन्यत्रबाट सुरक्षाकर्मीको आँखा छल्दै आवतजावत गर्नेलाई दुई साता क्वारेन्टिनमा राख्न सुरू गरेको मोरङका सहायक प्रमुख जिल्ला अधिकारी खड्काले जानकारी दिए।
‘भारतबाट आउनेलाई क्वारेन्टाईनमा राख्ने त केन्द्रीय सरकारकै नियम हो’, उनले भने,‘भारतीय बजारबाट सामान किनेर आएपछि उनीहरुमा पनि जोखिम हुने भएकाले यो निर्णय गरिएको हो।’
भारतसँग सीमा जोडिएको मोरङको ६३ किलोमिटर क्षेत्रमा साना–ठूला ३४ वटा नाका रहेको छ। सहायक प्रजिअ खड्काले प्रहरीको आँखा छलेर कतैबाट भारत गएर नेपाल फर्किएको फेला पारे पक्राउ गरेर २ साता क्वारेन्टिनमा राखिने जानकारी दिए।
क्वारेन्टिनमा दुई साता राखेपछि पीसिआर परीक्षण गरेर रिपोर्ट नेगेटिभ आए मात्र घर जान दिने प्रशासनले जनाएको छ। भारतबाट कामको शिलशिलामा नेपाल आउन खोज्नेलाई पनि कागजपत्र हेरेर१४ दिनको क्वारेन्टाईन पुरा गरेपछि मात्र छाडिने गरेको छ।
Facebook Comment