मन्त्रिपरिषद पुनर्गठन : दशैं अघि कि पछि ?
काठमाडौं। नेकपा अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच केही दिनयता दैनिक जसो भेटघाट हुन थालेका छन्। सरकारको कामलाई प्रभावकारी बनाउने र पार्टीभित्रको सन्तुलन मिलाउनका लागि प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद पुनर्गठन गर्ने तयारी गरिरहेका छन्।
पार्टीभित्रका विवाद समाधानका लागि गठित कार्यादलले दिएको प्रतिवेदन कार्यान्वयनको चरणमा रहेकाले मन्त्रिपरिषद पुनर्गठन गर्ने विषयमा प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच दैनिकजसो भेटघाट भइरहेको हो।
मन्त्रिपरिषद पुनर्गठन गर्ने सहमति भएपनि त्यसको मापदण्डका विषयमा सहमति जुट्न सकेको छैन। असोज चार गते पेरिसडाँडामा बसेको नेकपा सविचलाय बैठकमा प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद पुनर्गठनका विषमया तीन वटा विकल्प प्रस्तुत गरेका थिए।
उक्त बैठकले मन्त्रिपरिषद पुनर्गठन गर्न सैद्धान्तिक सहमति दिएको थियो। प्रधानमन्त्री ओलीले दुई वर्षअघि नियुक्ती भएका सबैमन्त्रीलाई विदा गर्ने, मन्त्रीहरुको सेट नै परिवर्तन गर्ने वा कार्यक्षमताका आधारमा परिवर्तन गर्ने भन्ने विषय विकल्पका रुपमा अघि सारेका थिए।
तर मन्त्रीहरुको सेट नै परिवर्तन गर्ने भन्ने विषयमा खासै छलफल नभएकाले दुई वर्ष पुगेका वा कार्यक्षमताका आधारमा परिवर्तन गर्ने गरी अध्यक्षद्वयबीच छलफल भइरहेको छ।
हाल अर्थ, सूचना तथा संचार र शहरी विकास मन्त्रालय नेतृत्वविहीन छन्। शहरी विकास मन्त्रालय राज्यमन्त्रीको भरमा छ भने अर्थ र संचार मन्त्री विहीन छन्। दशैं अगाडि नै मन्त्रिपरिषद पुनर्गठन गर्ने गरी प्रधानमन्त्रीले तयारी गरिरहेका छन्।
बिहीबार बसेको मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्रीले त्यसको संकेत पनि गरेका थिए। उक्त बैठकमा प्रधानमन्त्री ओलीले ‘केही साथीहरुको यो अन्तिम बैठक पनि हुन सक्छ’ भनेको एक मन्त्रीले जानकारी दिए।
अहिले कसैलाई अयोग्य वा काम गर्न नसकेको भनेर भन्दा पनि पार्टीभित्रको सन्तुलन मिलाउनका लागि विदाइ गर्नुपर्ने अवस्था आएको प्रधानमन्त्रीले जनाएका थिए।
भदौ २६ मा सम्पन्न नेकपाको स्थायी कमिटी बैठकले पनि मन्त्रिमण्डल पुनर्गठनलगायतका विषयमा निर्णय गरेको थियो । आवश्यक मापदण्ड बनाएर मन्त्रिमण्डल पुनर्गठन गर्ने नेकपाले निर्णय गरे पनि कस्तो मापदण्डका आधारमा गर्ने भन्ने चाहिँ सार्वजनिक गरिएको छैन।
प्रधानमन्त्री निकट स्रोतका अनुसार सम्पूर्ण मन्त्रीलाई बिदा गरेर नयाँलाई मौका दिनेभए मन्त्रिमन्डल पुनर्गठन दशै अघि नहुने तर, पुरानोलाई मात्र फेरबदल गर्ने भए केही दिन भित्रै त्यो निर्णय हुनसक्ने छ। सम्पूर्ण मन्त्रीलाई विदाइ गरिने संभावना कम भएको स्रोतले जनाएको छ।
मन्त्रिमण्डल पुनर्गठन गर्दा ठूलो संख्यामा गर्नुपर्ने र राम्रो सन्देश प्रवाह गर्नुपर्ने पक्षमा वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव कुमार नेपालले सुझाव दिएका छन्। मन्त्रिपरिषद पुनर्गठन हुने निश्चित भएपछि नेताहरु मन्त्री बन्ने लविङमा लागेका छन्। तर क–कसलाई मन्त्री बनाउने भन्ने विषय सार्वजनिक भइसकेको छैन।
Facebook Comment