सिटौलाले साथ नदिएपछि रोकियो पौडेल समुहको विरोध पत्र

खेमराज थापा
११ असोज २०७७ १८:००

काठमाडौं। काँग्रेसमा विवादका बीच भापति शेरबहादुर देउवालाई विरोध पत्र बुझाउँदा अर्का नेता कृष्ण प्रसाद सिटौलाकोसमेत समर्थन लिने वरिष्ठ नेता रामचन्द्र पौडेल समुहको प्रयास अन्तिममा विफल भएको छ। आइतबार पौडेल समुहले सभापति देउवालाई विरोध पत्र बुझाउने तयारी गरेको थियो। तर, सिटौलालाई पनि साथमा लिएर विरोध पत्र बुझाउने प्रयास असफल भएपछि आइतबार विरोध पत्र बुझाइएन।

पौडेल निवास बोहोराटारमा आइतबार नेता पौडेल र सिटौलाबीच विरोध पत्रबारे छलफल भएको थियो। छलफलमा नेता सिटौलाले विरोध पत्रमा साथ नदिने बताएका थिए। वरिष्ठ नेता पौडेलले डिसी नेपालसँग भने, ‘उहाँ (सिटौला)सँग आज छलफल भयो। हामीलाई किन देखाउनुहुन्छ भन्ने कुरा गर्नु भो। विरोध पत्रमा साथ नदिए पनि केन्द्रीय कार्यसमिति बैठकमा साथ दिन्छौं भन्नु भएको छ।’

सिटौलाले साथ नदिएपछि आइतबार रोकिएको विरोध पत्र बुझाउने कार्यक्रम सोमबार हुने वरिष्ठ नेता पौडेलले जनाए। उनले भने, ‘अब भोली विरोध पत्र बुझाउँछौं। पार्टी ध्वस्त हुन लागिसक्यो। पार्टी बचाउन केह िगर्नैपर्ने देखियो।’

सभापति देउवालाई बुझाउने तयारी गरिएको विरोध पत्रमा पौडेल, महामन्त्री डा. शशांक कोइराला, कोषाध्यक्ष सितादेवी यादवलगायत २७ जना केन्द्रीय सदस्यहरुले हस्ताक्षर गरेका छन्। सिटौलाले साथ नदिने भएपछि गगन थापा र प्रदीप भट्टराईले हस्ताक्षर गरेका छैनन। यद्यपी सोमबारसम्म यी दुई नेताहरुको पनि हस्ताक्षर गराउने प्रयास हुने पौडेल निकट स्रोतले जनाएको छ।

पौडेल समुहले हालै गुरुराज घिमिरे, बद्री पाण्डे र जीवन परियार रहेको एक कार्यदल बनाएको थियो। जसले सभापति देउवाले गरेका अवैधानिक गतिविधिको सूची तयार पारेको छ। सोही सूचीअनुसरा विरोध पत्र बुझाउने पौडेल समुहले जनाएको छ।

वरिष्ठ नेता पौडेलले भने, ‘हाम्रो मुख्य विरोध अवैधानिक गतिविधिमा हो। पार्टीको विभाग गठन, क्रियाशिल सदस्यता वितरणमा मनोमानी, भातृ संस्थाको महाधिवेशनका विषयमा पनि हाम्रो विरोध छ।’ सभापति देउवाले आफ्नो थपिएको कार्यकालमा धमाधम पार्टी विभाग गठन गरेका थिए। र अझै पनि सो कार्य जारी राखेका छन्। विभाग गठनप्रति पौडेल समुह शुरुदेखि नै असहमत थियो।

यस्तै सभापति देउवाले महाधिवेशन गर्न नसकेका पार्टीका विभिन्न १० वटा भातृ संस्थाको पदावधि ६ महिना थपेका थिए। यसमा पनि पौडेल समुहको असहमति छ। त्यस्तै पार्टीको क्रियाशिल सदस्यता वितरणमा जिल्ला सभापतिहरुलाई टाढा राख्दै केही जिल्लामा व्यक्तिहरुमार्फत वितरण गरिएको छ। विभिन्न समयमा काँग्रेसमा प्रवेश गरेका नेताहरुलाई सभापति देउवाले व्यक्तिगत रुपमा क्रियाशिल सदस्यता वितरण गर्ने अधिकार दिएका छन्।

जसप्रति पौडेल समुहको मुख्य विरोध छ। महाधिवेशनमा कब्जा गर्ने नियतले क्रियाशिल सदस्यता वितरणमै कब्जा गर्न खोजेको पौडेल समुहको आरोप छ।

आगामी फागुन ७ देखि १०सम्म काठमाडौंमा महाधिवेशन गर्ने मिति तोकिए पनि सो मितिमा महाधिवेशन हुन नसक्ने काँग्रेसकै नेताहरुले बताउन थालेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *