साढे ३२ हजारलाई सहुलियतपूर्ण कर्जा, सबैभन्दा कृषि र पशुपंक्षीमा लगानी
काठमाडौं। बैंक तथा वित्तीय संस्थाहरुले साढे ३२ हजार सर्वसाधारणलाई व्याज अनुदानसहितको सहुलियतपूर्ण कर्जा प्रदान गरेका छन्। नेपाल राष्ट्र बैंकले सहुलियतपूर्ण कर्जा लगानी बढाउन बैंकहरुले दवाव दिएसँगै लगानी बढेको हो।
राष्ट्र बैंकका अनुसार २०७७ साउन मसान्तसम्ममा बैंकहरुले ३२ हजार ४५५ ऋणीलाई ५९ अर्ब ५६ करोड कर्जा लगानी गरेका छन्। उक्त कर्जामध्ये सबैभन्दा बढी कर्जा कृषि तथा पशुपंक्षी व्यवसायमा लगानी भएको छ। यस शीर्षकमा बैंकहरु २४ हजार ७६४ ऋणीलाई ५४ अर्ब ११ करोड कर्जा लगानी गरेको छ।
कृषि बाहेकका अन्य शीर्षकमा भने ७ हजार ६९१ ऋणीलाई ५ अर्ब ४५ करोड कर्जा मात्र लगानी गरेका छन्। कृषिमा लगानी बढाउनका लागि राष्ट्र बैंकले बैंकहरुलाई कृषिमा अनिवार्य १० प्रतिशत लगानी गर्नुपर्ने बाध्यात्मक व्यवस्था समेत गर्दै आएको छ।
सरकारले दुई वर्ष अघि व्याज अनुदान कार्यविधि लागू गर्दै व्यवसायिक कृषि तथा पशुपन्छी कर्जा, शिक्षित युवा स्वरोजगार कर्जा, विदेशबाट फर्केका युवा परियोजना कर्जा, महिला उद्यमशील कर्जा, दलित समुदाय व्यवसाय विकास कर्जा, उच्च र प्राविधिक तथा व्यावसायिक शिक्षा कर्जा, भूकम्प पीडितहरूको निजी आवास निर्माणका लागि सहुलियतपुर्ण कर्जा कार्यक्रम सुरु गरेको थियो। कृषि कर्जाको व्याजमा अनुदान दिने व्यवस्था भने त्यसभन्दा अघि नै सुरु भएको थियो।
कार्यविधिमा बैंकहरु कृषि तथा पशुपंक्षीमा पाँच करोड, शिक्षित युवा स्वरोजगारमा सात लाख, विदेशबाट फर्केका युवालाई १० लाख, महिलालाई १५ लाख, दलितलाई १० लाख, व्यवसायी शिक्षा लिएकालाई पाच लाखसम्म कर्जा प्रवाह गर्नसक्ने सिमा निर्धारण गरिएको छ।
यी कर्जाहरुमध्ये महिला उद्यमशिलता कर्जामा ६ र अन्य कर्जामा ५ प्रतिशत अनुदान दिने व्यवस्था छ। बैंकहरुले आफ्नो आधारदरमा २ प्रतिशतसम्म थप गरेर कर्जाको व्याज लिन पाउने र त्यसमा सरकारले अनुदान दिने व्यवस्था छ।
Facebook Comment