सक्रिय सङ्क्रमितको सङ्ख्या १९ हजार ६२४
काठमाडौँ । पछिल्लो २४ घण्टामा मुलुकभर थप एक हजार ३ सय ५१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सोही अवधिमा कोरोना निको भई ७ सय ४२ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यो सँगै कोरोना निको भइ डिस्चार्ज हुनेको सङ्ख्या ५४ हजार ६ सय ४० पुगेको मन्त्रालयद्वारा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्राडा जागेश्वर गौतमले आज जानकारी दिए ।
देशभरका स्वास्थ्य प्रयोगशालामा आज १० हजार ८० पिसिआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । हाल मुलुकभर सक्रिय सङ्क्रमितको सङ्ख्या १९ हजार ६ सय २४ रहेको उनले बताए ।
यसैगरी संस्थागत आइसोलेशनमा आठ हजार ६ सय ९५ जना र होम आइसोलेसनमा दश हजार ९ सय २९ जना तथा विभिन्न क्यारेन्टिन छ हजार ३१० जना रहेका छन् ।
मुलुकभरका अस्पतालहरुमा हाल कोरोना सङ्क्रमितमध्ये २ सय २५ जनाको आइसियुमा र ३१ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।
Facebook Comment