कालो बजारीको प्याज ६० रुपैयाँ किलाे !

डिसी नेपाल
१३ असोज २०७७ ९:४०

काठमाडौं। वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले बजार अनुगमनका क्रममा बरामद गरेको प्याज खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले शुक्रबारदेखि प्रतिकिलो ६० रुपैयाँमा बिक्री गर्न थालेपछि सर्वसाधारणको भीड लागेको छ।

असोज १ गते विभागको बजार अनुगमन टोलीले बल्खु र कालिमाटी तरकारी बजारमा लुकाएर राखेको करिब एक हजार २०० किलो प्याज बरामद गरेको थियो।

बजारमा अहिले प्याजको मूल्य प्रतिकिलो १४० रुपैयाँ भन्दा माथि छ। त्यसैले खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सस्तोमा बिक्री गरेपछि टाढा टाढादेखि मानिसहरु आएका छन्।

कम्पनीका बाग्मती प्रदेश बिक्री प्रमुख रणबहादुर बुढाथोकीका अनुसार शुक्रबार १७ क्विन्टल र आइतबार १९ क्विन्टल बिक्री भइसकेको र सोमबार पनि बिक्री हुनेक्रम जारी रहेको छ।

‘कालोबजारी ऐनअन्तर्गत जफत गरेर हामिलाई जिम्मा लगाएको १ सय ४६ क्विन्टल ५९ किलोप्याज हामिले पाएका थियौँ। शुक्रबारदेखि प्रतिब्यक्ती ३ किलोका दरले बेचिराखेका छौँ,’ उनले भने।

सोमबार खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड परिसर थापाथली पुग्दा सर्वसाधारणको घुँइचो थियो। हात्तीवनदेखि चामल किन्न आएका सन्दीप यादवले ६० रुपैयाँमा प्याज पाएपछि आफूले प्याज पनि लिएको बताए।

यस्तै सस्तोमा प्याज पाउने थाहा पाएर आएको चाबाहिलबाट आएका अभिशेख रिजालले बताए। ‘बजारमा १४० रुपैयाँ किलो प्याज छ, किनेर खानै नसक्ने अवस्था छ,’ उनले भने, ‘अरुबेला प्याज काट्दा आँशु आउँथ्यो, अहिले किन्दा आँशु आउछ।’

काठमाडौँ उपत्यकाका तरकारी बजारमा प्याजमा कालोबजारी भएको भन्दै बजार अनुगमन गर्दा प्रहरी प्रशासनको सहयोगमा प्याज बरामद गरी पसलका सञ्चालकलाई नियन्त्रणमा लिइएको थियो।

बरामद गरिएको प्याज लामो समयसम्म राख्दा कुहिने सम्भावना धेरै भएपछि मंगलबार साँझ उद्योग मन्त्रालयमा भएको छलफलले खाद्य कम्पनीलाई बिक्रीको जिम्मा दिने निर्णय गरेको थियो। मन्त्रालयको निर्णयअनुसार विभागले प्याज बिक्रीको जिम्मा कम्पनीलाई दिएको हो।

बजार मूल्य भन्दा प्रतिकिलो कम मुल्यमा सरकारी कम्पनीले प्याज बिक्री गर्न थालेपछि कोरोना जोखिमकाबीच उपभोक्ताहरु लाइन लागेका हुन्।

सरकारी कम्पनीबाट प्याज खरिद गर्दा बजार मूल्यको तुलनामा दुई रुपैयाँसम्म बचत हुने भएकाले यतैबाट प्याज किन्न आएको टेकु अस्पतालमा नर्समा कार्यरत भतmपुर बस्ने सिता दाहालले बाताइन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *