कोभिडको प्रभावबाट वित्तीय क्षेत्रलाई जोगाउनु मुख्य प्राथमिकताः गभर्नर अधिकारी

डिसी नेपाल
१३ असोज २०७७ १७:४०

काठमाडौं। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कोभिड–१९ को महामारीबाट वित्तीय क्षेत्रलाई जोगाउनु आफ्नो मुख्य प्राथमिकता भएको बताएका छन् ।

बाणिज्य बैंकका अध्यक्षहरुसँग मंगलबार भर्चुअल मिटिङमा बोल्दै गभर्नर अधिकारीले पहिलो प्राथमिकता कोभिड १९ को असरबाट बाहिर आउनु र दोस्रो प्राथमिकता मर्जर रहेको जानकारी दिए । ‘अहिले तत्कालको प्राथमिकता भनेको कोभिडको असरबाट वित्तीय क्षेत्रलाई जोगाउनु हो’ उनले भने, ‘त्यसपछि मात्र मर्जरको विषयलाई प्राथमिकता दिनुपर्छ ।’

गभर्नर अधिकारीले कोभिडको असरबाट वित्तीय क्षेत्रलाई जोगाउन विभिन्न उपाय अपनाइएको समेत जानकारी दिए । उनले नगद लाभांस वितरणमा कडाइ गरेर बैंक तथा वित्तिय संस्थालाई समस्यामा पर्नबाट जोगाएको दावी गरे ।

राष्ट्र बैंकले मौद्रिक नीति मार्फत असार मसान्तमा कायम निक्षेपको भारित औसत ब्याजभन्दा बढी नगद लाभांश बाँड्न नपाउने ब्यवस्था गरेको छ । यसैगरी गत आर्थिक बर्षको पुस सम्म निरन्तर ऋणको सावाँ व्याज तिरेका ऋणीको हकमा पनि बैंकहरुले जोखिम व्यवस्था गर्नु नपर्ने व्यवस्था छ ।

गभर्नर अधिकारीले अहिले कुनैपनि बैंक तथा वित्तिय संस्थालाई मर्जरमा जानका लागि दवाव नदिने भन्दै मर्ज गर्दा राम्रो रिजल्ट आउछ भने गर्न अध्यक्षहरुलाई सुझाव दिएका थिए ।

यसैगरी गभर्नर अधिकारीले नयाँ नयाँ क्षेत्र र ग्राहकको खोजी गरेर ऋण लगानी बढाउन समेत आग्रह गरे । ‘अब पुराना ग्राहकमा मात्र सिमिति भएका वित्तीय बजार बढ्दैनन’ उनले भने, ‘नयाँ ऋणी र क्षेत्र खोजेर लगानी बढाउनुहोस् ।’

कार्यक्रममा बैंक तथा वित्तीय संस्थाका अध्यक्षहरुले लाभांस वितरणको व्यवस्थामा लचिलो बन्न, मर्जरका लाथि थप सहूलियत दिन आग्रह गरेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *