चाडपर्वलाई लक्षित गरी उपत्यकामा प्रहरीको ‘सेफ्टी पिन’ अभियान
काठमाडौं । दशैँ तिहारलाई लक्षित गरी नेपाल प्रहरीले उपत्यकाको बढी भिडभाड हुने क्षेत्रहरुमा सादा पोशाकका प्रहरी खटाउन शुरु गरेको छ । व्यापारिक, आर्थिक, तथा वित्तिय क्षेत्रहरूमा ‘सेफ्टी पिन’ अभियान अन्तर्गत सादा पोशाकमा प्रहरीलाई खटाएको हो । महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) विश्वराज पोखरेलका अनुसार चाडपर्वलाई लक्षित गरेर सेफ्टी पिन अभियान शुरु गरेको बताए ।
सो अभियानअन्तर्गत खटिएको प्रहरी कर्मचारीहरूलाई डिआइजी पोखरेलले मंगलबार महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा निर्दैशन दिदै सार्वजनिक स्थानमा महिला हिंसा, दूर्व्यवहारलाई रोक्न यो अभियानले मद्दत पुग्ने बताए । डिआइजी पोखरेलले सो अभियान सार्वजनिक सवारी साधन र सार्वजनिक स्थानहरूमा महिला माथि हुने यौनजन्य दुर्वव्यवहार न्यूनिकरणको लागी खटाइएको भए पनि हाल विश्वव्यापी रूपमा फैलिएको कोभिड–१९ का कारण लकडाउन अबधि समाप्त भइ सार्वजनिक यातायात संचालन भएता पनि भिडभाड नहुने तर व्यापारिक क्षेत्रहरूमा भिडभाड बढेकाले सो जनशक्तिलाई त्यस्ता क्षेत्रहरूमा परिचाल गरिएको बताए ।
सेफ्टिपिन अभियानअन्तर्गत खटिएको प्रहरी कर्मचारीले सार्वजनिक स्थानमा महिला माथीहुने यौनजन्य दुर्व्यवहारलाई नियन्त्रण गर्नुका साथै चोरी,ठगी तथा पाकेटमारी समेतलाई नियन्त्रण गर्ने उनको दावी छ ।
लकडाउन खुलेसंगै महिला तथा बालबालिका विरूद्ध हुने विभिन्न खाले यौन तथा लैङ्गिक हिंसा रोकथाम तथा नियन्त्रणका लागी महिला प्रहरी निरीक्षक सहितको मोबाइल भ्यान पनि २४ सै घण्टा उपत्यकामा परिचालन गरि समस्यामा रहेका व्यक्तिहरूलाई सेवा प्रवाह गरिने समेत डिआइजी पोखरेलले बताए ।
Facebook Comment