डलर देखाई लुटपाट गर्ने दुई पक्राउ

भादगाउँ । प्रहरीले भक्तपुरमा डलर देखाई लुटपाट गर्ने दुई जनालाई आज पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–३ घर भई हाल भक्तपुर चारदोबाटोमा डेरा गरी बस्ने २३ वर्षीय विमल भण्डारी र २१ वर्षीय निर्मल भण्डारी रहेका छन ।
प्रहरीले उनीहरुको साथबाट ३ लाख ३१ हजार नगद, विभिन्न कम्पनीका मोबाईल २ थान, २२० सिसिको पल्सर मोटरसाइकल १ थान र पर्स २ थान समेत बरामद गरेको छ ।
प्रहरीका अनुसार उनीहरुले कमलविनायक बसपार्कमा दोलखा घर भई हाल सूर्यविनायक बस्ने एक जनालाई डलर साट्ने बहानामा ५ लाख रुपैंयाँ लुटपाट गरी फरार भएका थिए । महानगरीय प्रहरी परिसर भक्तपुर र महानगरीय प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरी टोलीले घटनामा सम्लग्न दुई जनालाई चाँगुनारायण नगरपालिका–८, रातोपाटीबाट नियन्त्रणमा लिएको परिसरका सूचना अधिकारी प्रहरी निरिक्षक सुवास बुढाथोकीले जानकारी दिए।
गत साउनदेखि डलर साट्ने बहानामा यहाँ लुटपाट भएको यो छैंठौँ घटना हो । सस्तो दरमा डलर साट्ने बहानामा गत साउन ८ गते मध्यपुर थिमि नगरपालिका–९ बोडेमा ३ लाख, वडा न ५ मा साउन १९ गते ४ लाख, वडा २ मा गत भदौ ३१ गते ५ लाख, वडा ९ बोडेमा यही असोज ६ गते ९ लाख ८० हजार रुपैंयाँ लुटपाट भएको प्रहरीले जनाएको छ । रासस
Facebook Comment