शेयर बजारमा सम्पति शुद्धिकरण निवारणको प्रावधानमा कडाई
काठमाडौं। नेपाल धितोपत्र बोर्डले सम्पत्ति शुद्धीकरण सम्बन्धी प्रावधानमा कडाई गरेको छ। धितोपत्र व्यवसायीका लागि जोखिममा आधारित सुपरिवेक्षण कार्यविधि जारी गर्दै बोर्डले अनुगमन सम्वन्धी व्यवस्थाहरु परिवर्तन गरेको हो।
आतंककारी र अपराधजन्य कार्यबाट आर्जित कालो धन शेयर बजारको माध्यमबाट शुद्धीकरण नहोस भन्ने उद्देश्यअनुरुप अन्तर्राष्ट्रिय मापदण्ड अनुसार सुपरिवेक्षण गर्ने दावी गरेको छ। निर्देशिकामार्फत सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्ग) निवारण ऐन, २०६४, सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्ग) निवारण नियमावली, २०७३ तथा नेपाल धितोपत्र वोर्डबाट जारी भएको सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी निर्देशन, २०७६ मा भएको कानूनी व्यवस्थालाई प्रभावकारी रुपमा लागू गरिने बोर्डले जनाएको छ।
निर्देशिकामा धितोपत्र व्यवसायीले प्रदान गर्ने वस्तु तथा सेवा, ग्राहक सम्बन्धी जोखिम, भौगोलिक क्षेत्र सम्बन्धी जोखिम, उच्च पदस्थ व्यक्ति सम्बन्धी जोखिम, वितरण माध्यम सम्बन्धी जोखिम, धितोपत्र व्यवसायीको संरचनगत जोखिम, धितोपत्र व्यवसायीको जोखिम व्यवस्थापन सम्बन्धी व्यवस्थालगायतको अनुगमन तथा मूल्याङकन गर्ने प्रावधान छ।
यसैगरी धितोपत्र व्यवसायीको स्थलगत तथा गैर स्थलगत सुपरीवेक्षण मार्फत संकलन गरिने परिमाणात्मक तथा गुणात्मक तथ्यांक तथा विवरणहरुबाट व्यवसायीको गैर स्थलगत जोखिम मूल्यांकन गर्ने व्यवस्था गरिएको बोर्डले जनाएको छ।
Facebook Comment