६ जनाको ज्यान लिने पहिरोपीडितको दुःख – ‘दिएको सहयोग लिन पनि नसक्ने भयौं’
काठमाडौं। गएको बिहीबार बिहानै पाल्पाको रम्भा गाउँपालिकाको फोक्सिङकोटमा भीषण पहिरो गयो । पहिरोले ६ जनाको ज्यान लियो । ७३ घर पहिरोको उच्च जोखिममा छन् । घटनाको एक हप्तापछि अहिले त्यो गाउँका नागरिकलाई दैनिक छाक टार्नै कठिन भएको छ । गाउँमा नुन, तेल, दाल लगायतका दैनिक उपभोग्य सामान सकिएका छन् । गाउँमा भएका पसल रित्तिइसके तर बाहिरबाट सामान पुर्याउने कुनै विकल्प छैन ।
स्थानीय सानाहुँगी माविका प्रधानाध्यापक एवत सारुका अनुसार फोक्सिङकोट जानको लागि २ वटा मोटर गुड्ने बाटो छन् । एउटा बाटो सदरमुकाम तानसेनबाट पूर्वी पाल्पाको व्यापारिक केन्द्र रामपुर जाने सडकको ताहुँबाट जान्छ । अर्को बाटो सिद्धार्थ राजमार्गको राम्दी नजिकैबाट जान्छ । अहिले यी दुवै बाटोहरु बन्द छन् । ‘बाहिरकाले सहयोग गर्न चाहेका छन् तर यहाँसम्म आउने बाटो नै छैन’ सारु भन्छन् ‘दिनेले सहयोग दिन चाहँदा पनि हामी लिन नसक्ने भयौं ।’
सारुका अनुसार हिँडेरै गाडी चल्न सक्ने ठाउँसम्म पुग्न पनि सम्भव छैन । जिल्लाको विकट उत्तरी क्षेत्रमा रहेको तत्कालीन फोक्सिङकोट गाविसबाट सिद्धार्थ राजमार्ग वा तानसेन–रामपुर सडकसम्म पुग्न पनि घन्टौं हिँड्नुपर्छ । सहदीखोला हुँदै राम्दीसम्म जाने सडक असोज १ देखि नै बन्द भएको हो । अर्को बाटो पनि असोज ७ देखि बन्द छ । बिहीबार गाउँमै पहिरो गएपछि भोलिपल्ट शव खोजेर पोस्टमार्टमका लागि सदरमुकाम तानसेन पठाउने योजना समेत तुहिएको सम्झँदै सारु भन्छन् ‘एक घण्टा लाश बोकेर गाडीसम्म पुर्याउने र सदरमुकाम पुर्याउने सोचेका थियौं तर सकेनौं ।’
उनका अनुसार घटना भएको भोलिपल्ट बिहानै नेपाली सेना र प्रहरीले डोजर प्रयोग गरी रिमिघातर्फको बाटो खोलेर उद्धारका लागि घटनास्थल पुगेका थिए । दिनभरीको प्रयासपछि शव संकलन गरेर बेलुका सदरमुकाम पठाउने योजना थियो । तर, दिउँसो पुनः पहिरो गएर बाटो अवरुद्ध भयो । बीचमा बाटो खोल्ने धेरै प्रयास भए तर पुनः पहिरो खसिरहेको छ । त्यसदिन गाउँमै फर्काएर स्थानीय भवानी प्राविमा राखिएका शव त जसोतसो भोलिपल्ट बोकेर हिँडेरै भए पनि सदरमुकाम पुर्याइयो तर बाटोमा पहिरो खस्ने क्रम रोकिएको छैन । दुवै बाटोहरु अहिलेसम्म पूरै बन्द छन् ।
पहिरोले बाटो अवरुद्ध भएको ठाउँसम्म डोजर समेत पुग्न सक्ने अवस्था नरहेकोले बाटो खोल्न निकै कठिनाइ भइरहेको पाल्पाका प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले बताए । ‘ठूला ठूला ढुंगा खसेका छन् । डोजर जान पनि सक्दैन’ उनले भने ‘बाटो नभएर घटना भएको दिन लाश पनि सदरमुकाम ल्याउन सकेनौं। भोलिपल्ट सुरक्षाकर्मीले लाश बोकेर हिँड्दै सिद्धार्थ राजमार्गसम्म ल्याएका हुन् ।’ न्यौपानेका अनुसार बाटो खोल्न निरन्तर प्रयास भइरहेको छ तर बाटो बिग्रिएको स्थान अत्यन्तै विकट भएकोले समस्या छ ।
बाटो कहिले खुल्छ भन्ने अहिले नै भन्न नसकिने न्यौपानेले बताए । उनका अनुसार अझै पनि पानी पर्ने र पहिरो खस्ने क्रम जारी रहेकोले बाटो फेरि पनि अवरुद्ध हुने जोखिम छ । ‘हामीले निरन्तर प्रयास गरिरहेका छौं तर पहिरो अझै पनि खसिरहेको छ’ उनले भने ‘यति नै बेला बाटो खुल्छ भन्ने अवस्था छैन । हामीले बाटो खोलिसकेपछि फेरि पहिरो जान पनि सक्छ ।’ उपभोग्य सामानको अभावबारे भने आफूलाई जानकारी नआएको बताउँदै उनले भने ‘सामानको समस्या के हो म बुझ्छु र समाधानको लागि आवश्यक पहल अगाडि बढाउँछु ।’
Facebook Comment