अकूत सम्पत्ति कमाएको अभियोगमा सिँचाइ विभागका सिडिइ शर्माविरुद्ध मुद्दा

डिसी नेपाल
१५ असोज २०७७ १९:४९

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अकूत सम्पत्ति कमाएको अभियोगमा जलस्रोत तथा सिँचाइ विभागका सिडिइ सुरेशकुमार शर्माविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । विभिन्न आयोजना तथा कार्यालयमा कार्यरत रहँदा पदीय दुरुपयोग गरेर रु तीन करोड छ लाख ५४ हजार ९३२ बराबर स्रोत नखुलेको सम्पत्ति आर्जन गरेको पाइएको आयोगको अनुसन्धानबाट खुलेको छ ।

आयोगका अनुसार २०५२ माघ २५ गते राप तृतीय श्रेणी इञ्जिनीयर पदमा अस्थायी नियुक्ति लिई सार्वजनिक सेवामा प्रवेश गरेका शर्माले २०५३ साउन ४ गतेदेखि स्थायी भएको पाइएको छ । यस्तै आव २०७६÷७७ सम्मको परीक्षण अवधिमा सिर्जित सम्पत्ति एवम् खर्च भएको विवरणको तुलना गर्दा आय अस्वाभाविक देखिएको आयोगको आरोप छ । शर्माको बैध आय रु दुई करोड ३५ लाख ३१ हजार ६७४ रहेको छ । खर्च तथा लगानी भने रु पाँच करोड ४१ लाख ८६ हजार ६०६ रहेको पाइएको छ ।

वैध आयभन्दा बढी खर्च गरी खरिद गरेका चलअचल सम्पत्ति एवम् विद्यमान सम्पत्ति तथा खर्च लगानीको स्रोत नखुलेको पाइएको आयोगले जनाएको छ । अवैध रुपमा आर्जन गरेको सम्पत्ति श्रीमती बबिता फुँयाल शर्माको नाममा समेत राखेको पाइएको छ । आयोगका प्रवक्ता तारानाथ अधिकारीका अनुसार आरोपी शर्माको अवैध सम्पत्ति जफथ गरी हदैसम्मको कारवाहीको माग गर्दै आज विशेष अदालतमा मुद्दा दायर गरिएको हो ।

अवैध तरिकाले कमाएको सम्पत्ति आफू र श्रीमतीको नाममा जग्गा खरिद गरेको, विभिन्न बैंक तथा वित्तीय संस्थामा लगानी गरेको तथा विभिन्न कम्पनीको संस्थापक एवम् साधारण शेयर समेत खरिद गरेको पाइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *