बलात्कारको बढ्दो ग्राफः दुई महिनामै ४ सय २० मुद्दा दायर

डिसी नेपाल
१५ असोज २०७७ २२:०७

काठमाडौं । देशभर महिला हिंसा र बलात्कारको दर उकालो लागिरहेको छ । निर्मला पन्तदेखि सम्झना कामीको बलात्कारपछि हत्याको घट्नासम्म आइपुग्दा बलात्कारको ग्राफको दर उकालो लागेको देखिन्छ । सम्झना कामीको हत्या र बलात्कार आरोपमा एक जना पक्राउ परेका छन् भने निर्मला हत्या प्रकरण अझै सुल्झन सकेको छैन । बलात्कारकै विषयलाई लिएर सडकदेखि सदनसम्म गर्मागर्मी बहस चलेका बेलामा प्रहरी कार्यालयमा उजुरीको चाङ बढिरहेको छ ।

कोरोना संक्रमणको पछिल्ला दुई महिनालाई हेर्ने हो भने अघिल्लो बर्षको तुलनामा बलात्कारका घटनाहरु बढिरहेका छन् । नेपाल प्रहरीले दिएको तथ्यांक अनुसार अघिल्लो साउन र भदौमा ३ सय ३० मुद्दा दर्ता भएका थिए भने अहिले ४ सय २० मुद्दा दर्ता भएका छन् ।

प्रहरी प्रधानकार्यालयका अनुसार साउन र भदौमा मात्र बलात्कारका ४ सय २० वटा मुद्दा नेपाल प्रहरीमा दर्ता भएका छन् । प्रहरीका अनुसार अन्य अपराधमा तुलनामा बलात्कारका घटना बढेका छन् ।

प्रहरी प्रधान कार्यालयको तथ्यांक अनुसार आर्थिक वर्ष २०७६÷७७ मा २ हजार १ सय ४४ वटा बलात्कारका मुद्दा दर्ता भएका थिए । चालु आर्थिक वर्षको साउनमा मात्रै देशभर २ सय ६० वटा बलात्कारका मुद्दा दर्ता भएका छन् । पछिल्लो तथ्यांक हेर्दा साउन र भदौमा सबैभन्दा बढी बलात्कारका घटना भएका छन् । प्रकृति हेर्दा ‘मर्निङ वाक’ मा निस्केको बेला, जंगलमा गाई बाख्रा चराउन गएको बेला तथा लकडाउनले एक्लो भएको मौका छोपेर बढी बलात्कार भैरहेको पाइएको छ ।

नेपाल प्रहरीका प्रवक्ता कुवेर कडायतका अनुसार बलात्कार र यौनजन्य दूव्र्यवहारका घटना परिचित व्यक्ति र आफन्तबाट हुने गरेका छन् । ‘कतै कतै आफ्नै बाबुले छोरी र दाजुले बहिनीलाई पनि यौनजन्य दूव्र्यवहार गरेको पाइन्छ’, एसएसपी कडायतले भने । उनका उनका अनुसार धेरै घटना ‘क्लोज रिलेसनसिप’ बाटै भएका छन् । ‘आफ्नैलाई बलात्कार गर्दा घटना बाहिर जाँदैन भन्ने मनशाय पनि राखेको देखिन्छ, कतिपयले धम्की दिएर पनि बलात्कार गरेका छन्,’ उनले भने ।

नेपाल प्रहरीले मुलुकभर बलात्कार र यौनजन्य घट्नामा बढोत्तरी आएपछि सर्वेक्षण पनि गरेको थियो । सो सर्वेक्षण अनुसार कतिपय सन्दर्भमा प्रलोभनमा पनि बलात्कार हुने गरेको देखिएको थियो । ‘आर्थिक प्रलोभन, रोजगारी, धम्की र त्रास सिर्जना गरेको बलात्कार यौनजन्य क्रियाकलाप गरेको पाइयो’, उनले भने । उनका अनुसार सर्वेक्षणमा सामाजिक सञ्जालको दुरुपयोग र अश्लील भिडियो सामग्रीले बालमनोविज्ञानमा असर पारेको देखिएको थियो । बलात्कृतमध्ये ६० प्रतिशतजति १५ वर्षमुनिका बालिका छन् । त्यसमा पनि ११ देखि १५ वर्षबीचका धेरै छन् । गत आर्थिक बर्षमा मात्रै यो उमेर समूहभित्रका ७ सयभन्दा बढी बलात्कृत र बलात्कारको प्रयासबाट पीडित भएको प्रहरी तथ्यांकमा उल्लेख छ ।

प्रहरीले यस्तो घट्नाको अनुसन्धानमा सफल भएको जनाउदै आएको छ । केही अपवाद बाहेकका सबै घट्नाका दोषीलाई कानुनी कारवाहीमा ल्याएको पनि एसएसपी कडायतले दावी गरे ।

‘हामी म्याक्सिमम सफल भएका छौँ । तपाईँले यदि ख्याल गर्नुभयो भने एकाध घटनाबाहेक हामीले जति पनि भेट्छौँ, चाँडोभन्दा चाँडो नियन्त्रणमा लिएर अनुसन्धानलाई अगाडि बढाएको अवस्था छ ’, एसएसपी कडायतले भने । प्रहरी अनुसन्धान अनुसार बलात्कृत हुनेमा आर्थिक अवस्था कमजोर भएका र निमुखा बढी छन् । बिरामी, अपांगता भएका, स्कुल जाने उमेर नभएका, पाको उमेरका, गर्भवती र वृद्धासम्म बलात्कारीको शिकार हुने गरेका छन् । प्रहरीले दिएको तथ्यांक अनुसार बलात्कारीहरुले ६ महिनाकी शिशु र ७५ वर्षसम्मका वृद्धसमेत छाडेका छैनन् ।

सरकारले कोरोना भाइरस नियन्त्रणका लागि लकडाउन गरेयता अन्य अपराधमा कमी भए पनि केही अपराध भने रोकिएनन् । आत्महत्या गर्ने र बलात्कृत हुनेको संख्या यो अवधिमा हवात्तै बढेको छ । चैत ११ यता देशभर हरेक दिन कम्तीमा पनि २ वटाका दरले बलात्कारका घटना भएका छन् । सबैभन्दा धेरै उपत्यका र प्रदेश ५ मा बलात्कारका घटना भएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार चैतदेखि साउन मसान्तसम्म प्रदेश ५ मा सबैभन्दा धेरै ९० बढी मुद्दा दर्ता भएका छन् भने उपत्यकामा ८७ वटा मुद्दा दर्ता भएका छन् । यसबाहेक उपत्यकामा १२ वटा बाल यौन दुराचारका घटना भएका छन् ।

के छ कानुनी व्यवस्था ? 

मुलुकी फौजदारी (संहिता) ऐन २०७४ को दफा २१९ ले कसैले कुनै महिलाको मञ्जुरीबिना जवर्जस्ती करणी गरेमा बलात्कार गरेको मानिन्छ । यस्तै १८ वर्षभन्दा कम उमेरकी बालिकासँग मञ्जुरी लिई गरे पनि बलात्कार गरेको ठहर हुने व्यवस्था छ ।

ऐनले दश वर्षभन्दा कम उमेरकी बालिकालाई बलात्कार गरेमा १६ देखि २० वर्षसम्म कैद, दश वा दश वर्षभन्दा बढी र १४ वर्षभन्दा कम उमेरकी बालिका भए १४ देखि १६ वर्ष कैद, चौध वर्षभन्दा बढी र १६ वर्षभन्दा कम उमेरकी भए १२ देखि १४ वर्ष कैद, १६ वर्षदेखि १८ वर्षभन्दा कम भए १० वर्षदेखि १२ वर्षसम्म कैद र १८ वर्षदेखि माथि उमेररकी महिला भए ७ देखि १० वर्ष कैद सजाय हुने व्यवस्था छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *