सिलाइकटाइप्रति बढ्दो आकर्षण

डिसी नेपाल
१६ असोज २०७७ १२:३३

कालीकोट । पछिल्लो समय महिलाहरु सिलाइकटाइमा व्यस्त देखिन्छन् । सदरमुकाम मान्म बजारको जिरोप्वाइन्टदेखि प्रतिमाचोकसम्मका महिलाहरु दिनभरि सिलाइकटाई व्यवसायमा लागिरहेका छन् । कोही सिकाउने गर्छन् भने कोही सीप सिक्ने तयारीमा छन् ।

थोरै लगानीमा राम्रो आम्दानी हुन थालेपछि महिलाहरु सिलाइकटाइ व्यवसायप्रति आकर्षित भएका हुन् । सिलाइकटाइ व्यवसाय गरी घरपरिवार पाल्न र आफूलाई चाहिने खर्चको जोहो गर्न सजिलो भएको सान्नी त्रिवेणी गाउँपालिका ६ की कोइला सन्ज्यालले बताए ।

सन्ज्याल मात्र हैन रास्कोट नगरपालिका वडा नं १ निवासी नौरता शाही पनि सीप सिकाउँदै र सिक्दै आएकी छन् । उनले भनिन्, “सिलाइकटाइ व्यवसाय गरे राम्रो आम्दानी हुन्छ, तालीम लिनका लागि आउनेहरुको सङ्ख्या जिल्लामा झन्झन् बढ्दै गएको छ । ”
सिलाइकटाइ व्यवसाय सिक्नेहरुको सङ्ख्या बढ्दै गएपछि सिकाउनेहरुलाई पनि फाइदा पुगेको छ ।

सुर्खेत जिल्लामा जन्मथलो भएका ज्योति खत्रीले कालीकोटलाई कर्मथलो बनाएर सिलाइकटाई व्यवसाय सिकाउँदै आउकी छन्। उनी भन्छिन्, “अहिलेसम्म एक हजार भन्दा बढीलाई सिलाइकटाइ व्यवसाय सिकाउने मौका पाएकी छु ।”

निजीस्तरमा खुलेका तालीम केन्द्रमा करीब १० महिलाले सिलाइकटाइको तालीम लिइरहेका छन् । सरकारीस्तरमा खुल्ने तालीमको अवसर प्रायःजसो कमै छ । सान्नी त्रिवेणी गाउँपालिकाले औजार उपकरणका लागि सहयोग गरेको छ ।

हाल ज्योति एण्ड टीका सिलाइकटाइ प्रशिक्षण केन्द्रलाई सादा नेपाल र सान्नी त्रिवेणी गाउँपालिकाले औजार उपकरणका लागि सहयोग गरी सिलाइकटाइ तालीम सञ्चालन भइरहेको छ । एक महिनाको तालीममा सीप सिकेर गाउँमै व्यवसाय सञ्चालन गरिने महिलाहरु बताउँछन् । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *