कथाः सी सेक्टरका सुब्बा दाजु
दिनको दुई बजे सी सेक्टरको पुरानो र साँघुरो क्वाटरमा आइपुग्दा प्रेम सुब्बा थकान, भोक दुवैले हैरान थिए ।
सुब्बेनीले तातो भात अगाडि राखिदिएपछि कपाकप खाइसकेर पुरानो सोफामा बस्दै भने “अब अरुणाचलमा बस्न सकिन्न, बाहिरको मान्छेलाई यहाँका ट्राइबलहरूले देख्नै नसक्ने भए ।” एकै स्वरमा भने प्रेम दाजुले ।
हजारौंको संख्यामा कामको खोजीमा यहाँ आएर जीवनको आखिरी समयसम्म दुःखैदुःखमा जीवन बिताउने हरेकको कथा र सङ्घर्ष कम रोचक छैन । नेपाल घर धनकुटाको खाम्नेरा वडा नम्बर १ । आमा मरेर बाउले कान्छी आमा बिहे गरेपछि १५ वर्षको उमेरमा असम भासिएका प्रेमबहादुर आङ्ला, असम, मनिपुर, नागाल्याण्ड कहाँ मात्र पुगेनन् ? जहाँ गएपनि कर्मसँगै भनेजस्तै आफ्नो नामसम्म लेख्नसक्ने प्रेमबहादुर आङ्ला पिडब्लुमा चौकीदारीको स्थायी जागिर खाएपछि पच्चीस वर्षदेखि इटानगरको सी सेक्टरमा छन् ।
तर, सी सेक्टरमा चाहीँ सबैले सुब्बा दाजु भनेर चिन्छन् ।
पुरानो कुर्सीमा खुट्टा पूरै माथि चढाएर कुक्रुक्क परेर हात घुँडामा बान्दै बोले –“सुन आमा ।”
बिस्तारै बोलिन् सुब्बेनी “के ?”
बिस्तारै बोले सुब्बा “मासुपसल छेउमा तरकारी बेचेर बस्ने बाहुन त मरेछ ।”
सुब्बेनी टाउको कन्याउदै बोलिन् –“के भएर मरेछ ?”
“खोई बेङग्ती नली छेउमा भुइँमै लडिरहेको थियो रे हेर्दा मरिसकेको ।”
उदास आँखाले दैलोदेखि बाहिर पानी परेको हेर्दै बोलिन् सुब्बेनी, “बढेको छोरी घरमा छ । कहिले यो नरकबाट निस्कनु सास रोक्केलाझैँ हुन्छ । नेपालीलाई मार्नु त कुकुर मार्नु भन्दा सजिलो भयो ।”
पानी र हुस्सु एकैपटक कमै ठाउँमा पर्छ तर इटानगरमा पानी र हुस्सु एकैपटक देख्न पाइन्छ । अहिले पानी जोडले परिरहेछ तर हुस्सु पनि भित्रै पस्न खोजेझैँ गरिरहेछ । यो ठाँउमा बाहिरको मान्छेलाई ट्राइबलहरूले देखिसहँदैनन्, उनीहरूको भाषामा “हारिङ” भन्छन् । ट्राइबललाई हारिङको पौरख मात्र मन पर्छ ।
छेउमै कुरा सुनेर बसिरहेकी माया मलिन स्वरमा बोली “बाउ तामुल खाने ?”
“ले ना त” सुब्बा बोले ।
तामुल बनाएर माया बाहिर गई ।
डिसेम्बरको महिना अरुणाचलमा महिनौं दिनसम्म पानी परिरहन्छ पृथ्वी नै भासिएला जस्तोगरी । धेरैजसो गाउँमा वर्षाभरि आवतजावत ठप्प हुन्छ । अचानक पानी रोकिए हुस्सु र बादलले ढाकिरहन्छ । कहिलेकाहीँ दिक्क लाग्छ । कहिलेकाही यही मौसम फेरि यसै यसै रहरलाग्दो हुन्छ । टुक्का नै छ ‘यहाँको मौसम र केटाको कहिल्यै भर हुन्न ।’
सिटी त बाहिरबाट आएको मान्छेहरूले नै भरिएको छ । पारीपट्टी पूर्व उत्तरमा हात्तीजस्तो लम्पसार उभिएको पहाडको भिरालो चेपहरूमा यहाँका आदिवासीहरू बसोबास गर्छन् । प्रायः बाँसको टाटीले बारेको भुइँभन्दा अलिक माथि उठेका यी घरहरू घरभन्दा ज्यादा गोठघरजस्तो लाग्छ तर यसरी घर बनाउने चलन चाहीँ यहाँको सदियौंदेखिको प्रचलन हो ।
राती पहाडको जंगल बीच बीचमा बलेको आगो राँकेभूतजस्तै देखिन्छ । पहाडैभरि ठाउँ ठाउँमा बलेको आगोको उज्यालोले कस्तो नोस्टाल्जिक बनाउने ! रोमान्चक कथाजस्तै लाग्ने उनीहरूको जीवन अझ लोक कथाझैँ लाग्छ अहिले उनीहरूको कथा यति नै । भारतको विभिन्न प्रान्त र बंगलादेशबाट चोरबाटो हुँदै कामको खोजीमा आउनेहरूको भीडले भरिएको छ ईटानगर । यहाँका रैथाने आदिवासीहरूले माया गरेर बस्न दिएको माटोमा सा–सानो टहरो बनाएर जुगै काट्नेहरू कति छन् कति । यिनीहरूको दुःख र गुमनाम कथा लेखी नसक्नु छ ।
+++
बेलुकीको करिब चार बज्यो । पानी पर्न कम भएको छैन । यसरी कालै भएर परेको पानीको छाँट हेर्दा अझै कतिदिन पानी पर्ने हो भन्न सकिन्न । कस्सिएर दर्किएको पानीको थोपा टिनमा ठोक्किँदा निस्किएको आवाजको कारण सुब्बाले के बोले सुनिनन् सुब्बेनीले, फेरि सोधिन् “के भन्नु भयो बाउ ?”
बिहे भएको सुरु सुरुमा सुब्बेनीले लोग्नेलाई सुब्बा दाई भनेर बोलाउँथिन् तर छोराछोरी जन्मिसकेपछि दुवैले एकअर्कालाई बाउ र आमा भनेर बोलाउँछन् । बिहे भएको यो चालिस वर्षमा यी दुईको झगडा भएको वल्लो घर पल्लो घर कसैलाई थाहा छैन । ढुकुरको जोडीजस्तै सधैँ माया मात्र गरिरहने । सुब्बा दाजुले त झन् ठट्टा गरेको बेला बुढीलाई रेला गर्दै भन्छन् –“हाम्रो लिम्बूनीहरूले बुढालाई हजुर तपाईं भन्दैनन् मिठो मसिनो बनाएर दिनै जान्दैनन् तेरो हजुर तपाईं र मीठो मसिनो चट्ट बनाएर दिने बानीले मेरो यो जुनी सकिने भो ।” यस्तो बेला सुब्बेनी केही नबोली सुनिरहन्छिन् तर घरको माहौल लिम्बूको जस्तो एउटै छैन ।
सुब्बेनीको माईती तेजु । नेपालको रामेछापबाट बाजेकै पालामा ईण्डिया भास्सिएका उनका जिजुबाजे जातले पाँडे हुन् । उनी चाहिँ बिहेपछि सुब्बेनी भएकी । एक छोरी रोमा, दुई छोराहरू सन्तु र राकेश छन् । मायालाई चाहिँ सानैदेखि पालेको । आमा मरेको बाउले कान्छी आमा ल्याएको । सुब्बा दाजु र मायाको कथा उस्तै ।
हाँस्दा सुब्बा दाजुको आँखाको डिलमा भएभरको छाला जम्मा भएर बत्तीस मुजा पर्थे । सबै दुःख बिर्सिएर हाँसेको त्यो हँसाइ कस्तो मीठो र उन्मुक्त । तर, आज सुब्बा दाजु उदास उदास छन् । रिटायर हुन अझै एक दशक बाँकी छ । पीर पनि कता कताको मात्र भने हुर्केको छोरी जोगाउन धौधौ । अत्याचार कतिसम्म भने दुःख गरेर रोपेको फलफूलसम्म खान नपाइने । ट्राईबलले नसोधी टिपेर लाने । छोडेर जाउ कहाँ जानू ? जीवनभरिको परिश्रम । नजाउँ जहिल्यै त्रासमा बाँच्नु पर्छ । काम गरेको ज्याला नदिएको, पिटाइ खाएको, बेखर्ची भएको बिरामी भएर औषधी गर्न नपाएर मरेकाहरूको घटना त कति सुनिन्छ सुनिन्छ तर यसपल्टको घटनाले सुब्बा भित्रैबाट बिथोलिएका छन् ।
श्रमले नै त हो सुब्बा दाजुको जति मन निर्दोष र सफा छ त्यति नै घामले डढेर अनुहार कालो छ । लिम्बू भन्दा पत्याउन गाह्रै हुन्छ । हृदयमा एउटै कुराको हुटहुटी छ छोराछोरीलाई नेपाल पु¥याएर नागरिकता निकाल्ने । तर कहिले पैसाको जोहो गर्न सकेनन् । अब त गाउँमा पनि बिर्सिसके ।
शरीरले मुस्किलले वर्षमा नयाँ लुगा देख्छ । चौकीदारीको तलब कति नै हुन्छ र ? साँघुरो दुई कोठा, दुई जना मान्छे एकैपटक पसे सजिलो गरी घुम्न नसकिने किचन र सँगै टाँस्सिएको ट्वाइलेट । सेफ्टी ट्याङ्की भत्किएर बान्तै आउने दुर्गन्धले दिउँसो खाएको भातको स्वादलाई नमिठो बनायो कि बनाएन थाहा भएन सुब्बालाई तर अहिले भने नाकमै ठोक्किएर गएको दुर्गन्धले तामुलको स्वादलाई नमिठो बनाएर नाकमै ठोक्किएपछि झनक्क रिस उठ्यो र आमालाई भने “हन घरमा बस्नेहरूले फिनेल छर्केनौं ?”
सुब्बेनी केही बोलिनन् ।
झोक्किएर दोस्रोपटक सोध्दा सुब्बेनी बोलिन् “अघि बनाउँदै थियो सन्तुले ।”
“कहाँ गयो मुला ?”
“नहरलगन जान्छु भनेर गएको छ ।”
सुब्बा अनुहार बिगारेर सुनिरहे ।
बाहिर भाँडा धुँदै गरेको आवाज आयो ।
“आज तो जल्दी जल्दी हो गया खाना माया ?” पल्लो घरको गालो आन्टीको आवाज सुनियो ।
“खा लिया आन्टी ।” मायाको बोली सुनियो ।
पछाडिपट्टि अलिकता जमिन खाली छ । हो त्यसैमा भाँडा माझ्ने ठाउँ बनाएका छन् ।
अघिभन्दा पानी अझै जोरजोरले पर्न थाल्थो । टिन थर्केर अघि अलिअलि सुनिएको अहिले पटक्कै सुनिएन ।
सुब्बेनीले फेरि सोधिन् “अनि नेपाल चाहीँ कहाँ रहेछ हिजो मर्ने मान्छेको घर ?”
मर्ने बाहुनको जानकारी जिल्ला रामेछाप तर गाउँ कहाँ हो थाहा छैन । बाउ आमा नै बम डिस्टिकमा बस्थे । बाउ रुख काट्दा काट्दै आफैतिर आएर रुखले किचेर मरेको । लासलाई उतै पुरेको खबर आएपछि लोग्नेको पीर अनि लगातार दुई महिना ज्वारोले थला परेपछि आमा पनि मर्यो भन्ने सुनिएको यति नै हो । हिजो छोराको पनि बेवारिस मृत्यु भयो । यसरी मर्नेहरू कति छन् कति यहाँ भनेर साध्य छैन । मान्छेलाई दुःखले जिउँदै मार्दोरहेछ ।
सी सेक्टरभरी त्यो अपरिचित नेपाली केटोको मृत्युको विषयमा चर्चा चल्यो । निहुँचाहीँ मासुपसल नजिकै सानो भुइँमा सब्जी पसल राखेको रहेछ । त्यही निहुँमा ट्राइबल आइमाइले चिर्पटै चिर्पटले पिटेको रहेछ । एउटा विभत्स मृत्यु । अरुणाचलको पाखाहरूमा नेपालीको कस्तो सस्तो मृत्यु ? जे होस् यो केटोको मृत्युले देशै बिर्सिएर बाँच्नेहरूको निम्ति प्रश्न गरेर गयो । धेरैले मनमनै हत्यारालाई उजुर दिएर जेलसम्म पु¥याए तर कोही चुँक्कसम्म बोलेनन् । पेटको निम्ति मर्दै मर्दै बाँचेकाहरूलाई बाँच्न पाउने अधिकार के हो ? थाहै छैन । लासको विषयमा हल्ला त यतिसम्म चल्यो जस्तै; कतिले भने कुकुरजस्तै मर्यो । कतिले भने, हुँदा खान्थ्यो नहुँदा भोकै सुत्थ्यो । आँत कमजोर भइसकेको थियो त्यसैले कुटाइ थाम्न सकेन र मर्यो । कसैले भने दुःख लुकायो । तर धेरै नेपालीले मनमनै सोचे यो ठाउँमा नाकसन्तान कोही नआओस् ।
जे होस् उसको मृत्युसँगै मान्छेहरूमा विद्रोह जन्मिसकेको थियो । सी सेक्टरभरी उसको मृत्युबारे भित्रभित्रै आगो सल्किएको थियो सबै आतंकित थिए । सबै दुःखी थिए । यो घटनापछि बाहिरबाट आएर बसेकाहरूले पहिलोपल्ट आफैले आफैलाई प्रश्न गरिरहेका थिए ।
कैयौं दिन भयो अझै पानी रोकिने छाँटकाँट छैन । लगातारको बर्षातले चिसो स्वाट्टै बढेको छ । ईटानगरमा चिसो यति छ कि ओछ्यान छोड्ने मनै छैन । मध्यदिन भैसक्दा पनि हुस्सुले पूरै शहर छोपिएको छ । रातो चिया खाँदै सुब्बेनी सिरकभित्रै बसिरहेकी थिइन् । माया फाटेको सुरुवाल सिलाउँदै थिई । राकेश गितार बजाउँदै थियो कहिले नसुनेको नेपाली गीत गाउँदै ।
सुब्बा दिउँसोको खाना खान आए । जुत्ताको तुना फुकाल्दै दैलोको पेटीमै बसे ।
सुब्बेनी बोलिन् “बाउ”
सुब्बा बिस्तारै बोले “हँ”
“लास कहाँ छ अहिले ?”
“बन्दरदवा लगेर जलाएछन् बेङ्तीनलीमा होटल चलाउने गुरुङ्नी ठुलीको भाइ रमेश र अरु छ सात जना मिलेर ।”
सर्जिमीन भयो त ?
कसले गर्छ र ?
“कुकुर मरेको हो कि बिरालो सकियो अब ।” यति भनेर सुब्बा दाजुले गोजी छामे के सम्झिए जसरी ।
“मर्दा लाससम्म जलाउन नदिने यो ठाउँमा मान्छेको ओइरो पनि कति लागेको ?” सुब्बेनी रिसाएर फुस्फसाईन् ।
मंगोलियन ती आँखा कहिल्यै यति विरक्त थिएनन् । सधँै दिउँसो खाना खान आउँदा एकछिन् आँखा झिमिक्क पार्थे तर आज आँखा शून्य छ निद्राको नामनिशान छैन । यसरी बर्षौदेखि घर परिवारसँग बिछोडिएर एक्लै एक्लै यो ठाउँ मात्र नभएर पूरै ईन्डियाको उत्तरी भू–भागमा फिँजिएर बस्ने नेपालीहरू लाखौंको संख्यामा छन् । धेरै जसो त नेपाल फर्कन्छु भन्दाभन्दै मरेर जान्छन् । कहिले नसकिने दुःख र सपना एकसाथ बोकेर हिँड्ने यो पृथ्वीभरि दुःखी मान्छे छन् भने यहीँ छन् जस्तो ।
कुनै समय सुब्बा दाईको तुजुक पहाड फोड्ने थियो । बम डिस्ट्रिक र क्युमाको घना जंगलहरूमा लकडी त कति काटे काटे मात्र जीवनको दुःखलाई काट्न सकेनन् । महिनौं घना जंगलमा बिताएका छन् । चिन्नेहरू भन्छन् यो ठाउँमा एकाध घरहरू हुँदादेखि सुब्बा दाइ सी सेक्टरमा छन् । कुनै लोककथाको पात्रझैं लाग्ने सुब्बा दाईले मन्त्री क्वाटर बेङ्ती नली र सी सेक्टरको उकालो ओरालो हिँडेको पाईला गन्ती गर्ने हो भने पूरै पृथ्वी चक्कर लगाएको हिसाब निस्कन्छ ।
घटना घटेको पाँच महिनापछि आज सी सेक्टरको भिरालो पाखामा बनेका सयांै कटेरोमध्ये सुब्बा दाजुको कटेरोमा थोत्रे टिनको दैलोमा चाबी झुण्डरहेको थियो बाहिरबाट । कहाँ गए, कतिखेर गए कसैलाई थाहै भएन । सबैले अनुमान लगाए सायद नेपाल गए होला ।
आज पनि ईटानगरको मौसम धुम्म थियो तर पानी परको थिएन । अथाह दुःखले थिचे जस्तो खै के सोचेर पल्लो घरको डेकाबुढा एकोहोरो दैलोलाई हेरेर उभिरहेको थियो जोसँग सुब्बा दाजुले आफ्नो लगभग पूरै जिन्दगी बिताए । प्यासेजमा साँघुरोगरी राखिएको गमलामा फुलिरहेको हल्का गुलाबी रंगको जिरेरियम फूललाई हुस्सुसँगै चलिरहेको बतासले हल्लाउँदा एउटा एउटा गरेर पत्रहरू झरिरहेका थिए ।
(तुम्खेवाको प्रकाशोन्मुख कथासंग्रहबाट )
Facebook Comment