काबुल आक्रमणका पीडित नेपालीलाई सन्तुष्ट पारेर क्यानडा सरकारले मिलापत्र गर्‍यो

डिसी नेपाल
१७ असोज २०७७ ९:३९

काठमाडौं। ४ वर्षअघि अफगानिस्तानको काबुलमा भएको आत्मघाती आक्रमणमा घाइते नेपाली र मारिएका नेपालीको परिवारले क्यानडा सरकारविरुद्ध हालेको २ अर्ब रुपैयाँभन्दा बढीको मुद्दामा क्यानडा सरकारले नेपाली पीडित परिवारलाई सन्तुष्ट पार्ने गरी मिलापत्र गरेको छ । ४ वर्षअघि काबुलस्थित क्यानडाको दूतावास परिसरमा भएको विष्फोटमा १३ नेपाली र २ भारतीय मारिएका थिए । यो विष्फोटमा घाइते भएका पूर्व सैनिक सुरक्षाकर्मी र मारिएका सुरक्षाकर्मीका विधवाहरुले मंगलबार अदालतमा २०.४ मिलियन डलर क्षतिपूर्ति माग गर्दै मुद्दा दर्ता गराएका थिए ।

यी पूर्वगोर्खाली सैनिक र तिनका परिवारले अफगानिस्तानमा विष्फोट भएसँगै उनीहरुलाई काममा लगाउने कम्पनी भागेको बताएका थिए । क्यानडा सरकारले उक्त कम्पनीलाई जिम्मेवारी दिएको भए पनि कम्पनीमाथि निगरानी गर्ने काममा क्यानडा सरकार विफल भएको भन्दै उनीहरुले क्यानडा सरकारले नै क्षतिपूर्ति दिनुपर्ने माग गरेका थिए । विष्फोटका घाइतेहरुको बीमा, स्वास्थ्य उपचार र क्षतिपूर्ति गरी दिनुपर्ने रकम केहीलाई थोरै अंश मात्र दिएको र केहीलाई कत्ति पनि नदिइ कम्पनी भागेको उनीहरुले आरोप लगाएका थिए ।

पीडित नेपाली परिवारका वकिल जो फियोरेन्टेले क्यानडाको सरकारी मिडिया क्यानडियन ब्रोडकास्टिङ कर्पोरेसनसँग कुरा गर्दै मुद्दाको ‘सेटलमेन्ट’ भएको पुष्टि गरे । यद्यपि उनले सेटलमेन्टका शर्तहरुबारे बताउन अस्वीकार गरे । नेपालमा रहेका पीडितका परिवारको रक्षाको लागि आफूले सेटलमेन्टका शर्तहरु नखुलाउने उनले बताए । ‘म यत्ति बताउन सक्छु कि पीडितका परिवार सेटलमेन्टसँग सन्तुष्ट छन् र उनीहरुले क्यानडा सरकारले उनीहरुको परिवारले दिएको सेवा बलिदानको उचित सम्मान गरेको विश्वास गरेका छन्’ फियोरेन्टेले सीबीसी न्यूजसँग भने ।

यो मिलापत्रले एउटा पक्षको भने सम्बोधन गर्न नसकेको फियोरेन्टेले बताए । क्यानडा सरकारले भविष्यमा यसरी सुरक्षाकर्मी लिँदा प्रतिष्ठित र विश्वासिला कम्पनीलाई जिम्मेवारी दिने गरी सरकारको नीतिमा परिवर्तन गर्न अहिलेको मिलापत्रले नसकेको उनले बताए । फियोरेन्टेका अनुसार यो मिलापत्रले निजी ठेकेदारहरुलाई कामको जिम्मा दिने क्रममा हुने कमजोरी र रिक्तताको सम्बोधन गर्न नसकेको बताए । ‘मिलापत्रमा यस्ता कुनै बुँदा छैनन् जसले भविष्यमा अरु सम्झौताको क्रममा कुनै परिवर्तन आवश्यक परोस्’ उनले भने ‘यो कुरालाई अब ग्लोबल अफेयर्सले सम्बोधन गर्नुपर्छ ।’

पीडित नेपाली परिवारले मुद्दा हाल्दा क्यानडा सरकारसँगै उनीहरुलाई काममा लगाउने कम्पनी सब्रे इन्टरनेशनललाई पनि विपक्षी बनाएका थिए । पीडित परिवारका अनुसार सुरुमा सब्रेले प्रत्येक पीडित परिवारलाई ३ लाख डलर दिने प्रतिबद्धता जनाएको थियो तर पछि दिएको थिएन । फियोरेन्टेका अनुसार यो कम्पनी वा यससँग सम्बन्धित व्यक्तिहरु भने फेला पर्न सकेनन् । विष्फोटपछि नै सब्रेले अफगानिस्तान र इराकमा आफ्नो सबै काम बन्द गरेर क्यानडा सरकारसँग भएको सम्झौतासमेत बीचमै छाडेर भागेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *