काँग्रेस नेता केसी र थापा संक्रमित, पार्टी कार्यालय भन्छ : रिपोर्ट आएकै छैन
काठमाडौं। आगामी सोमबार बस्ने काँग्रेस केन्द्रीय कार्यासमितिको बैठकका लागि शुक्रबार सबै केन्द्रीय पदाधिकारी तथा सदस्यहरु र कार्यालयका मुख्य सचिब, सचिबलगायत सबै कर्मचारीको कोरोना परीक्षणका लागि स्वाब संकलन गरियो।
शनिबार केन्द्रीय सदस्य अर्जुननरसिंह केसी पोजेटिभ भएको हल्ला चल्यो। साथै ठूलो संख्यामा अरु केन्द्रीय सदस्यहरु पनि संक्रमित भएको चर्चा भयो। यहीबीचमा ट्वीट गर्दै नेता केसीले सञ्चार माध्यमबाट आफूले संक्रमित भएको जानकारी पाएको बताएका छन्। उनले मिडियाबाट जानकारी पाएको तर, पार्टी कार्यालयले जानकारी नदिएको भन्दै खेद व्यक्त गरेका छन्।
अर्का केन्द्रीय सदस्य गगन थापा पनि कोरोना संक्रमित भएका छन्। उनले ट्वीट गर्दै आफू संक्रमित भएको जानकारी दिएका छन्। उनले आफू घरमै आइसोलेशन बसेको भन्दै आफ्ना सम्पर्कमा आएकाहरुलाई परीक्षण गराउन भनेका छन्।
डिसी नेपालले राती साढे नौ बजे काँग्रेस केन्द्रीय कार्यालयका सचिवलाई सम्पर्क गर्दा उनले पार्टी पदाधिकारी तथा सदस्यहरुको कोरोना परीक्षणको रिपोर्ट नआएको बताए। उनले केही कर्मचारीको रिपोर्ट आएको र सबै रिपोर्ट नेगेटिभ आएको जानकारी दिए। उनले हल्ला भएजस्तो नेताहरु संक्रमित भएको रिपोर्ट नआएको दावी गरे। उनले आइतबार बिहानसम्म रिपोर्ट आउने बताए।
Facebook Comment