कोरोना जोखिमका बीच प्रधानमन्त्री ओली र प्रचण्डबीच बालुवाटारमा भेट

डिसी नेपाल
१८ असोज २०७७ १७:२४

काठमाडौं। नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आइतबार बालुवाटारमा छलफल भएको छ। प्रचण्ड निकट स्रोतका अनुसार आइतबार दिउँसो छलफलका लागि प्रचण्ड बालुवाटार पुगेका थिए।

उनीहरुबीच कोरोना संक्रमण मन्त्रिमण्डल पुनर्गठनका विषयमा छलफल भएको बताइएको छ। तर छलफलमा कुनै निष्कर्ष ननिस्केको प्रचण्ड निकट स्रोतले जनाएको छ। हालै सम्पन्न पार्टी स्थायी कमिटी बैठकले मन्त्रिमण्डल पुनर्गठन गर्ने र सरकारले गर्ने महत्वपूर्ण निर्णय पार्टीको सचिवालय बैठक तथा दुई अध्यक्षको परामर्शमा गर्ने निर्णय गरेको थियो।

तर, प्रधानमन्त्री ओलीले हालै मुख्य सचिब नियुक्ति र राजदूत नियुक्तिका विषयमा छलफल नगरी आफ्नै हिसाबले निर्णय गरेको भन्दै प्रचण्ड रुष्ट रहेको बताइन्छ। प्रचण्ड रुष्ट बनेपछि पार्टीको स्थायी कमिटी बैठक बोलाइएको थियो। तर, अन्तिममा शनिबारको बैठक स्थगित गरेर आइतबारलाई बैठक बोलाइएको थियो।

तर, बालुवाटारमा कोरोना संक्रमण फैलिएपछि आइतबारको स्थायी कमिटी बैठक पनि अनिश्चित बनेको छ। यही विषयमा दुई अध्यक्षहरुबीच छलफल भएको प्रचण्ड निकट स्रोतले बतायो।

प्रधानमन्त्रीका सल्लाहाकार र सुरक्षाकर्मीसहित बालुवाटारमा ७४ जनालाई कोरोना संक्रमण भएपछि भेटघाट बन्द भएको जनाएको बालुवाटारले आइतबार भने सो घोषणाको पालना गरेन। शनिबार बालुवाटारले प्रधानमन्त्री ओलीले सबै भेटघाट बन्द गरेको बालुवाटारले जनाएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *