विदेशी लगानी सीधै बैंक खातामा ल्याउन गृहकार्य

डिसी नेपाल
१९ असोज २०७७ ६:२७

काठमाडौं। केन्द्रीय बैंकको स्वीकृतविना प्रत्यक्ष विदेशी लगानीको रकम (एफडीआई) सीधै बैंक खातामा ल्याउन पाइने व्यवस्थाका लागि गृहकार्य शुरू भएको छ । एफडीआईको रकम सीधै बैंक खातामा ल्याउन दिनुपर्ने लगानीकर्ताको माग पूरा गर्न राष्ट्र बैंकले गृहकार्य शुरू गरेको हो ।

यो व्यवस्था आएपछि विदेशी लगानी ल्याउनुअघि राष्ट्र बैंकको अनिवार्य स्वीकृति लिनुपर्ने बाध्यताको अन्त्य हुने राष्ट्र बैंकले बताएको छ । चालू आर्थिक वर्षको मौद्रिक नीतिले निश्चित शर्त र मापदण्डको अधीनमा रही निश्चित रकमसम्मको विदेशी लगानीबापतको विदेशी मुद्रा बैंक तथा वित्तीय संस्थाहरूमार्फत स्वचालित रूपमा (अटोमेटिक रूट) बाट भित्र्याउन सक्ने व्यवस्था गरेको छ ।

यसअनुसार निश्चित थ्रेसहोल्डसम्मको लगानीलाई राष्ट्र बैंकबाट स्वीकृति नलिई सीधै ल्याउन पाउने व्यवस्था गरिँदै छ । यो व्यवस्थाले एफडीआईको रकम राष्ट्र बैंकको स्वीकृतिविना सीधै वाणिज्य बैंकको खातामा आउने गरी मिलाउन गृहकार्य गरिरहेको विदेशी विनिमय व्यवस्थापन विभागका कार्यकारी निर्देशक बमबहादुर मिश्रले जानकारी दिए । तर, कोरोना महामारीका कारण कार्यान्वयनमा लैजान केही समय लाग्ने उनको भनाइ छ ।

यो व्यवस्था लागू भएपछि एफडीआईको रकम स्वीकृत गर्नुअघिका सबै प्रक्रिया पूरा गर्न राष्ट्र बैंक (हाल एकल विन्दु सेवा केन्द्र) धाउनुपर्ने समयको बचत हुनेछ । लगानीकर्ताले लगानी रकमअनुसार लगानी बोर्ड, उद्योग विभाग, मन्त्रालयबाट मात्र स्वीकृति लिए पुग्ने आजको आर्थिक अभियान दैनिकमा खवर छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *