चीनलाई उछिनेपछि विदेशी मिडियाले लेख्यो–‘निष्फिक्री नेपाली कोरोनासँग होइन लकडाउनसँग डराउँदै’

डिसी नेपाल
१९ असोज २०७७ ९:१६

काठमाडौं। कोरोनाभाइरस संक्रमणको केसमा नेपालले चीनलाई उछिनेको छ । सबैभन्दा सुरुमा यो भाइरसबाट प्रभावित देश चीनले यो भाइरसमाथि पूरै नियन्त्रण गरिसकेको छ र अहिले संक्रमित संख्याको आधारमा ४५ औं नम्बरमा छ ।

नेपालले आइतबार चीनलाई उछिन्दै ४४ औं स्थानमा उक्लियो । आइतबार नेपालमा कूल संक्रमित केस संख्या ८६ हजार ८२३ पुगेको छ जबकि आइतबार नै चीनको कूल संक्रमित संख्या ८५ हजार ४७० पुगेको छ । नेपालमा आइतबार मात्र २ हजार २५३ नयाँ केस थपिए ।

संक्रमणका केस लगातार बढिरहेको अवस्थामा पनि नेपालमा बजार र सडकमा भीडभाड देखिएकोप्रति इंगित गर्दै समाचार एसिया न्यूज इन्टरनेशनलले नेपालीलाई ‘निष्फिक्री’ भनेको छ ।

एएनआइको रिपोर्टअनुसार सरकारले लागू गरेका स्वास्थ्य प्रोटोकलहरु लागू भएका छैनन् र सबै नेपालीहरु आउँदो दशैं मनाउने मुडमा छन् । काठमाडौं संक्रमणको इपिसेन्टर बनेको छ र देशभरी दैनिक देखिने केसमध्ये ५० देखि ७० प्रतिशत केस उपत्यकामा मात्र देखिएका छन् । तर, यहाँका मानिसहरु संक्रमण भन्दा पनि सम्भावित लकडाउनप्रति चिन्तित छन् ।

‘लकडाउनले हाम्रो स्थिति पहिले नै बिगारिसकेको छ । अब हामीले दूरी कायम गर्ने, भीडभाड नगर्ने, सबैं मास्क लगाउने र अन्य सुरक्षाका मापदण्ड अपनाउने जस्ता विकल्पबारे सोच्नुपर्छ जसले यो महामारीलाई नियन्त्रण गर्न वास्तवमै काम गर्छ ।

यदि फेरि लकडाउन लागू गरियो भने जनता पहिलेजस्तै अत्यन्तै कठिन अवस्थामा पुग्नेछन् । लकडाउनले स्थितिलाई झनै खराब बनाउनेछ’ इन्द्रचोकमा बजार गर्न आएका राजेशले एएनआइसँग भने ।

आइतबार १२ हजार ७८४ नमूनाको पीसीआर परीक्षण गर्दा १७.६२ प्रतिशत नमूना पोजेटिभ पाइएका छन् । काठमाडौंमा मात्र १० हजार ६६३ एक्टिभ केस छन् भने भक्तपुरमा १ हजार १० र ललितपुरमा १ हजार ४१२ एक्टिभ केस छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *