१० अर्वको विकास ऋणपत्र जारी गर्दै सरकार
काठमाडौं। सरकारले १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र जारी गर्ने भएको छ। सरकारका लागि आन्तरिक ऋण उठाउन राष्ट्र बैंकले ७ वर्ष अवधिको ‘विकास ऋणपत्र २०८४ घ’ जारी गर्न लागेको हो।
२०७७ असोज २१ गते जारी हुने ऋणपत्र २०८४ असोज २१ गते परिपक्व हुनेछ। यसमा बैंक तथा वित्तीय संस्था, गैर बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्थाका साथै सर्वसाधारणले समेत खरिद गर्न पाउँछन्।
ऋणपत्र खरिद गर्न चाहनेहरुले असोज २० गते ३ बजेसम्ममा अनलाइनमार्फत बोलपत्र पेश गर्न सक्ने व्यवस्था गरिएको छ। ऋणपत्रको ब्याज दर भने बोल कबोलको माध्यमबाट निर्धारण हुने व्यवस्था छ।
ऋणपत्र मध्ये प्रतिस्पर्धी बोलकवलकर्तालाई कुल निश्कासनको ८५ प्रतिशत अर्थात ८.५ अर्व र अप्रतिस्पर्धीलाई १५ प्रतिशत अर्थात् १.५ अर्व छुट्ट्याइएको छ ।
प्रतिस्पर्धी बोलवालाहरुलाई छुट्याइएको रकमको लागि पूरा बोल प्राप्त नभएमा बाँकी हुन आउने रकम प्रतिस्पर्धी बोलवालाहरुलाई बिक्री गरिने र अप्रतिस्पर्धी बोलवालाहरुलाई छुट्ट्याइएको रकमभन्दा बढी रकमको बोल प्राप्त हुन आएमा बोलवालाहरुलाई समानुपातिक रुपमा उक्त ऋणपत्रको रकम बाँडफाँड गरिने सूचनामा उल्लेख छ।
बैंक तथा वित्तीय संस्था प्रतिस्पर्धी बोलकबुलमा मात्र सहभागी हुन पाउनेछन् भने अन्य संस्था तथा व्यक्तिहरु अप्रतिस्पर्धीका रुपमा भाग लिन पाउछन्।
बोलकबोल गर्दा घटीमा पचास हजार र बढीमा कुल निष्काशित रकमको सीमामा नबढाई पचास हजारले भाग गर्दा निःशेष भाग जाने अंकमा गर्न पाइनेछ।
अर्धबार्षिक रुपमा व्याज आर्जन हुने यो ऋणपत्र धितो राखेर बैंक तथा वित्तीय संस्थाबाट धितो लिनका साथै शेयर बजारमार्फत कारोबार गर्न समेत सकिनेछ। सरकारले चालु आर्थिक वर्षमा विभिन्न माध्यमबाट २ खर्ब २५ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउन संसदबाट स्विकृती लिएको छ।
Facebook Comment