तलेजु मन्दिरमा यस वर्षको दशैंमा बलि नदिइने, पुजारीबाहेक सबैलाई प्रवेश निषेध

डिसी नेपाल
२१ असोज २०७७ १३:५२

काठमाडौं। भक्तपुरको तलेजु भवानीको मन्दिरमा यस वर्ष कुनै पनि बलि नदिइने भएको छ । मन्दिरमा बडादशैंको पूजा समेत औपचारिक रुपमा मात्र सीमित हुनेछ । मन्दिरभित्र विधिपूर्वक पूजा गर्नको लागि पुजारीले मात्र प्रवेश पाउनेछन् । अन्य सबैलाई प्रवेश निषेध गरिएको छ । श्रद्धालुले बाहिरैबाट पूजा आराधना गर्न गर्न सक्नेछन् तर त्यसमा पनि निर्धारित स्वास्थ्य मापदण्ड र दूरीको मापदण्ड पूरा गर्नुपर्नेछ ।

तलेजु भवानी मन्दिर दशैंमा धेरै बलि दिइने मन्दिरमध्येको एक हो । ‘यहाँ हरेक वर्ष गुठी संस्थानले मात्र ६० वटा बोका, ३१ वटा राँगा र ३० वटा हाँस बलिको लागि दिने गर्छ’ भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिले डिसीनेपालसँग भने ‘सर्वसाधारणले ल्याउने पशुपन्छीको संख्या त कति हो कति गनिनसक्नु हुन्छ ।’ यस वर्षको लागि भने गुठी संस्थानले पनि बलि प्रयोजनको लागि कुनै पनि पशुपन्छी नपठाउने निर्णय गरिसकेको प्रजापतिले जानकारी दिए । ‘हामीले सर्वसाधारणलाई पनि बलिको लागि पशुपन्छी नल्याउन आग्रह गर्ने निर्णय गरिसकेका छौं’ प्रजापतिले भने ।

दशैं नजिकिएपछि तलेजु मन्दिरमा बडादशैंको पूजा व्यवस्थित गर्नको लागि मंगलबार भक्तपुर नगरपालिकाका प्रजापतिको अध्यक्षतामा जिल्ला प्रशासन कार्यालय र महानगरीय प्रहरी परिसरका प्रतिनिधि, गुठी संस्थान भक्तपुरका प्रमुख र तलेजुका पुजारीहरू सहितको बैठकले स्वास्थ्य जोखिम रोक्ने उद्देश्यसहित यस वर्ष तलेजुको पूजा औपचारिकतामा सीमित राख्ने निर्णय गरेको हो । ‘यसअघि पनि सम्भावित जोखिम रोक्ने अभियानमा नगरबासीले सहयोग गर्नुभएकोले अहिले पनि गर्नुहुन्छ भन्ने अपेक्षा गरेका छौं’ बैठकपछि नगरप्रमुख प्रजापतिले भने ।

बैठकले तलेजु भवानीको मन्दिरका हकमा मात्र नभइ नगरका विभिन्न अन्य शक्ति पीठहरूमा समेत दशैंको अवसरमा घटस्थापनाकै दिनदेखि सुरु हुने मेला, पुजा र नवरातको समयमा हुने कार्यक्रमहरुमा बाजा लिई वा नलिई कुनै किसिमले भीड हुने गरी मन्दिरहरूमा नजानको लागि जनतालाई आह्वान गर्ने पनि निर्णय गरेको भक्तपुर नगरपालिकाले आफ्नो आधिकारिक अनलाइनमार्फत जानकारी दिएको छ । नगरपालिकाका अनुसार दशैं अवधिभर तलेजु परिसरमा पूजासँग सम्बन्धितबाहेक अन्य नागरिकलाई प्रवेशमा रोक लगाइनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *