अनशनको २४ औं दिनमा वर्ताका लागि समिति गठन

डिसी नेपाल
२१ असोज २०७७ १९:५१

काठमाडौं। चिकित्सा शिक्षा सुधारको माग राख्दै अभियन्ता डा. गोविन्द केसी अनशन बसेको २४ औं दिनमा सरकारले उनीसँग वार्ता गर्न समिति गठन गरेको छ। सरकारले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपीनाथ मैनालीको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको छ। शिक्षामन्त्रीस्तरीय निर्णयबाट सो समिति गठन भएको हो। प्रा डा केसी गत २४ दिनदेखि जुम्लाबाट शुरु गरी हाल त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा अनशनमा रहेका छन्।

अनशन बसेका डा. केसीको स्वास्थयमा समस्या आएको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस, विभिन्न विपक्षी दलहरु, सत्तारुढ दल नेकपाका शीर्ष नेताहरु र चिकित्सकहरुले डा. केसीसँग तत्काल वार्ता गर्न सरकारमाथि दबाब दिएका थिए।

मङ्गलबार सरकारको निर्देशनमा सचिव मैनालीसहितको टोलीले भेटेर अनशन त्याग्न आग्रह गर्दा उनले वार्ता समिति गठन भई आफ्ना माग पूरा गर्नुपर्ने अडान राखेपछि बुधबार समिति गठन गरिएको हो। शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माका अनुसार समितिमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहसचिव डा गुणराज लोहनी र चिकित्सा शिक्षा आयोगका निर्देशक दिलीप शर्मा रहेका छन्।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी को मङ्गलबारको सचिवालय बैठकमा प्रा डा केसीको जीवन रक्षाका सन्दर्भमा छलफल हुँदा प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष केपी शर्मा ओलीले लागि सो विषयमा सरकार गम्भीर रहेको र वार्ताका लागि प्रक्रिया शुरु भइसकेको जनाएका थिए। बैठकले कोरोना महामारीको विषम स्थितिमा अनशन अन्त्य गराई वार्ताबाट समस्याको समाधान गर्न प्रा डा केसीलाई आग्रह गरेको थियो। सरकारले प्रा डा केसीका अधिकांश माग पूरा भइसकेको जनाउँदै आएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *