नेपाल–भारत फ्रेन्चाइज एक्सपो असोज ३० गतेदेखि सुरु हुँदै
काठमाडौं। नेपाल–भारत फ्रेन्चाइज एक्स्पो, अवार्ड तथा समिट यही असोज ३० गतेदेखि सुरु हुने भएको छ । भर्चुअल माध्यमबाट कार्तिक २ गतेसम्म संचालन हुने एक्सपो नेपाली र भारतीय ब्रान्ड र आगन्तुकहरूलाई एउटै मञ्चमा जुटाई एक–अर्का देशबीच लगानी, प्रविधि एवं व्यावसायिक मोडलहरू आकर्षित गर्ने उद्देश्यले आयोजना हुन लागेको हो । एक्सपो पहिलो पटक भर्चुअल माध्यमबाट हुँदैछ ।
सम्मेलन नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल फ्रान्चाइज डट कमको साझेदारीमा हुँदैछ । नेपालस्थित भारतीय राजदूतावासले सम्मेलन आयोजना आयोजना गरेको हो । यसमा नेपाल र भारतका एक सयभन्दा बढी प्रतिष्ठित ब्राण्डले भाग लिने छन् । नेपाल तथा भारतका प्रसिद्ध ब्रान्ड र अवलोकनकर्तालाई एउटै छानामुनि ल्याई व्यवसायिक अवसरको सृजना गर्ने उद्देश्यले हुन लागेको एक्सपोमा दुई हजारभन्दा बढी लगानीकर्ताले फ्रेन्चाइज, डिलरसीप तथा अनुमतिपत्र लगायतमा व्यावसायिक अवसर खोज्न सक्ने अपेक्षा गरिएको छ ।
यो सम्मेलनलाई नेपाल–भारतबीच लगानी प्रवद्र्धन, स्थापित स्टार्टअप तथा फ्रेन्चाइज आदान प्रदानको महत्वपूर्ण मञ्चको रूपमा हेरिएको छ । गत वर्ष नेपालमा भएको पहिलो एक्स्पोमा नेपालका १० र भारतका ५० ब्रान्डको सफल सहभागिता रहेको थियो । यस वर्ष भने कोभिड–१९ का कारण एक्स्पो तथा सम्मेलन भर्चुअल माध्यमबाट आयोजना हुन लागेको हो ।
फ्लिपकार्ट, ओयो, कोक, युनिलिभर, लेन्सकार्ट जस्ता प्रतिष्ठित ब्राण्डहरु सहित १ सयभन्दाबढी भारतीय सहित अन्तराष्ट्रिय ब्रान्डहरूले नेपाली बजारमा प्रवेश गरिसकेका छन् भने नेपालमै आफ्नो पहिचान बनाइसकेका स्वदेशी ब्रान्ड पनि विस्तार भइरहेका छन् । यो एक्सपोले स्थापित यी ब्राण्डको विस्तार तथा स्थापित हुन नसकेका ब्राण्डहरुलाई स्थापित गराउन महत्वपूर्ण सहयोग गर्ने अपेक्षा गरिएको छ ।
Facebook Comment