लगानीकर्ताहरुलाई अनलाईन मार्फत नै कारोबार गर्न स्टक ब्रोकर्स एसोसिएसनको आग्रह
काठमाडौं। स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालले लगानीकर्ताहरुलाई अनलाईन मार्फत नै कारोबार गर्न आग्रह गरेको छ। शुक्रबार एसोसिएसनले एक विज्ञप्ति जारी गरी नेपालमा दैनिक रुपमा कोरोनाको संक्रमण बढ्दै गएको भन्दै ब्रोकर कार्यालयमा भिडभाड नगर्न आग्रह गरेको छ।
ग्राहकको बढ्दो भिडका कारण ग्राहक स्वयं तथा कार्यालयमा कार्यारत कर्मचारीहरुसमेत उच्च जोखिममा परेको एसोसिएसनद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
एसोसिएसनले कतिपय ब्रोकर कम्पनीका कर्मचारीहरुमा कोरोनाको संक्रमण भइसकेको भन्दै हाल भौतिक उपस्थिति बिना नै धितोपत्रको दोस्रो बजारमा कारोबार गर्नका लागि खाता खोल्न, कारोबार गर्न, राफसाफ गर्न तथा कारोबारसँग सम्वन्धित सम्पूर्ण कार्य गर्न सकिने र लगानीकर्ताहरुले पनि घरबाटै सो सुविधा लिनुपर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ।
Facebook Comment