डा. केसीको अनशन जारी, आज वार्ता भएन
काठमाडौं। चिकित्सा शिक्षा सुधारको माग राख्दै अनशन बसेका डा. गोविन्द केसीका प्रतिनिधि र सरकारी वार्ता टोलीबीच अहिले सात बजेपछि वार्ता हुने भनिए पनि अन्तिम समयमा आएर वार्ता भएन। डा केसी निकट प्रितम सुवेदीले शुक्रबार वार्ता हुन नसकेको बताए।
साँझ ७ बजेसम्म वार्ताका लागि डा. केसीका प्रतिनिधिले पर्खेका थिए। तर, अनौपचारिक कुराकानीमा सहमति नजुटेपछि औपचारिक वार्ता नभएको बुझिएको छ। डा केसी अनशन बसेको शुक्रबार २६ दिन पुग्दा पनि उनका माग पूरा नभएपछि अनशन जारी रहेको छ। डा. केसीले सहमति नभएसम्म अनशन नतोड्ने बताउँदै आएका छन्।
शिक्षा सचिब गोपिनाथ मैलानी नेतृत्वको सरकारी वार्ता टोली र डा. जीवन क्षेत्री नेतृत्वको डा.केसीको प्रतिनिधिबीच बिहीबार दुई चरणमा वार्ता भएको थियो।
बिहीबार भएको वार्तामा सकरात्मक कुरा भएको बताइएको थियो। तर शुक्रबार औपचारिक वार्ता हुन नसकेपछि समस्या झन बल्झने देखिएको छ।
Facebook Comment