प्रकृतिको काखमा अचानक विलिन भए संरक्षणका हिरोहरु
आजभन्दा १४ बर्षअघि नेपालको सुदूरपूर्वको मनोरम स्थान कन्चनजंगा संरक्षण क्षेत्रमा एउटा ज्यादै विस्मयकारी, अकल्पनीय घटना भएको थियो जसले मलाइ समय समयमा घोचिरहन्छ। घटनास्थलमा म थिइनँ तर घटनासँग मेरो नाता भने निकै गहिरो छ।
वास्तवमा भन्नुपर्दा त्यो घटनामात्र होइन कन्चनजंगा संरक्षण क्षेत्रसँगै मेरो भावनात्मक सम्वन्ध गासिएको छ। यसका केही कारणहरु छन्। पहिलो–आयोजना स्थापना र संचालनका लागि नै विश्व बन्यजन्तु कोष (डव्लुडव्लुएफ) का तत्कालीन नेपालका आवासीय प्रतिनिधि मिङ्ग्मा नोर्वु शेर्पाले मलाई नियुक्ति गर्नु भएको थियो।
दोश्रो–त्यस क्षेत्रको विकासका लागि सँगै काम गर्ने समुदायसँगको निकट सम्बन्ध र सरुवा हुँदाको मेरो बिदाइमा देखिएको आत्मीयता। तेस्रो– त्यस संरक्षण क्षेत्रलाई समुदायमा हस्तान्तरण गरेपश्चात तुरुन्त आफ्ना गुरुहरु गुमाउनु पर्दाको पीडा।
डव्लुडव्लुएफका तर्फबाट बर्तमान आवासीय प्रतिनिधि डा.घनश्याम गुरूङ र मलाई कन्चनजंगा संरक्षण क्षेत्र आयोजनाको स्थापना र संचालनका लागि तत्कालीन आवासीय प्रतिनिधि मिङ्ग्मा नोर्वु शेर्पाले खटाउनु भएको थियो। हामी दुवैले एकै दिन त्यस क्षेत्रको संरक्षणको अभियानमा पहिलो पाइला टेकेका थियौं।
जटिल भौगोलिक, सामाजिक र आर्थिक अवस्था भएको त्यस क्षेत्रमा स्थानीय वासिन्दाहरूको जीवनस्तर उकासी उनीहरुलाई नै संरक्षण क्षेत्र हस्तान्तरण गर्ने मूल उद्देश्यमा हामी कार्यरत थियौं। मिङ्ग्मा नोर्वु शेर्पाले नेपालमा आफ्नो कार्यकाल सकेर डा.चन्द्र गुरूङलाई आवासीय प्रतिनिधिको जिम्मेवारी हस्तान्तरण गरी अमेरिकामा डव्लुडव्लुएफमा नै संरक्षणको अर्को पारीको शुरूवात गर्नु भएको थियो।
ताप्लेजुंगमा कन्चनजंगा संरक्षण क्षेत्रलाई समुदायमा हस्तान्तरण कार्यक्रममा सहभागिता जनाउन मिङ्ग्मा सर पनि अमेरिकाबाट आइपुग्नु भएको थियो। गेटबाट भित्र पस्नासाथ उहाले मलाइ देख्नु भयो र सोध्नु भयो–आराम हुनुहुन्छ?
त्यसको केही महिनाअगाडि मात्र मिङ्ग्मा सरसंग डब्लुडब्लुएफ, वाशिंगटन डिसीमा कामको सिलसिलामा जाँदा मेरो भेट भएको थियो। हामी दुवैले सँगै लन्च खाएका थियाैं। त्यस समयमा मैले जागिरका लागि अन्तर्वार्तासमेत दिएको थिएँ, उहाँले अन्तर्वार्ता कस्तो भयो भनेर मलाई सोध्नुभएको थियो।
अन्तमा डा.गुरुङ्गले हामीतर्फ हेर्दै भन्नु भयोः “यो भ्रमण जटिल प्रकृतिको भएकाले जे पनि हुन सक्छ…..! अनिल र सुनिलले हाम्रो भ्रमणको मोनिटर गर्नू”।
डव्लुडव्लुएफ, नेपालका तत्कालीन आवासीय प्रतिनिधि डा.चन्द्र गुरूङले सेप्टेम्वर २२, २००६ का दिन फोन गर्नु भयो र कार्यालयमा छलफलका लागि बोलाउनु भयो। भोलिपल्ट सेप्टेम्वर २३, २००६ का दिन चितवनको एउटा कार्यक्रममा सहभागी हुँदै ताप्लेजुंगमा कन्चनजंगा संरक्षण क्षेत्र स्थानीयहरूलाई हस्तान्तरण गर्न जाने कार्यक्रम निर्धारण भएको थियो।
त्यसताका म प्रोग्राम एडमिनिस्ट्रेटरको पदमा कार्यरत थिएँ । छलफलका लागि तत्कालीन संरक्षण निर्देशक अनिल मानन्धरलाई पनि बोलाउनु भएको थियो। हामी दुईलाई पान्डा मिटिंग हलमा राखेर डा.चन्द्र गुरूङले कार्यक्रमको बारेमा ब्रिफिंग गर्नु भयो। ह्वाइट बोर्डमा नक्शा कोर्दै हेलिकप्टरको रूट, भ्रमणमा सहभागी हुने देशी तथा विदेशी संरक्षणविदहरू तथा कार्यक्रम तालिका नोट गराउनु भयो।
डा.गुरुङ स्वभावले एकदमै ब्यबस्थित र दूरदर्शी व्यक्तित्वका धनी हुनुहुन्थ्यो। अन्तमा डा.गुरुङ्गले हामीतर्फ हेर्दै भन्नु भयोः “यो भ्रमण जटिल प्रकृतिको भएकाले जे पनि हुन सक्छ…..! अनिल र सुनिलले हाम्रो भ्रमणको मोनिटर गर्नू”।
संरक्षण क्षेत्र हस्तान्तरणका लागि आर्थिक सहयोग प्रदान गर्दै आएका दाताहरुको समेत उपस्थिति भएकाले उनीहरुको ब्यबस्थापनका लागि डा.गुरुङ अत्याधिक व्यस्त हुनु हुन्थ्यो। त्यसपश्चात केही आन्तरिक छलफलहरु गर्दै हामीले डा गुरुङ्गलाई बिदाइ गर्दै आफ्नो घरतर्फ लागेका थियौं।
भोलिपल्ट विहानै अनिल मानन्धरजी र म कार्यालयमा आएर कफी पिउँदै भलाकुशारी गर्दै भ्रमण टोलीलाई मोनिटर गर्न ब्यस्त भयांै। मेरो पदीय दायित्व अत्याधिक महत्वपूर्णको थियो। क्राइसिस म्यानेजमेन्ट, आयोजना ब्यबस्थापन लगायत डोनरहरुसंगको मेरो आत्मीय सम्वन्धका कारण डा.गुरुङलगायत सबै सहकर्मीहरुसंगको मेरो सम्वन्ध र सम्पर्क नियमित हुने गर्दथ्यो।
शनिबार विदाको दिन थियो, हेलिकप्टर चितवन उड्यो, भोजपुरमा पुगेर मन्त्री गोपाल राईलाई लिदै ताप्लेजुंगमा ल्यान्ड गर्यो। तत्कालीन कार्यक्रम निर्देशक तथा बर्तमान डव्लुडव्लुएफ नेपालका आवासीय प्रतिनिधि घनश्याम गुरुङ , कार्यक्रम अधिकृत निरा श्रेष्ठ, आयोजना प्रमुख आङ्गछिरिङ्ग शेर्पा लगायतका सहकर्मीहरु समेत ताप्लेजुङमा कार्यक्रमका लागि उपस्थित हुनु हुन्थ्यो।
ताप्लेजुङको फुंगलिंगमा संरक्षण क्षेत्र आधिकारिकरूपमा समुदायलाई हस्तान्तरणको कार्यक्रम सम्पन्न भएपश्चात स्थानीय बासिन्दाहरूले संरक्षण क्षेत्र अन्तरगत घुन्सामा छोटो भ्रमण गरी फर्कन आग्रह गरे। भ्रमण टोली घुन्सा पुग्यो र समुदायले स्वागत गरे, संरक्षण क्षेत्र हस्तान्तरण भएकामा खुशी र धन्यवाद ज्ञापन गरे।
हेलिकप्टर काठमाडौं फर्किएको रेडियो सेटबाट खबर प्राप्त भयो। हामी रेडियोसेटकै नजिक बसेर सवै गतिविधिहरू मोनिटर गर्दै थियौं। हेलिकप्टर उडेको दुई घन्टा बित्यो, ल्यान्ड गर्ने समय हुँदै थियो। रेडियो सेटबाट घुन्सामा सम्पर्क गरें। अचानक मौसम खराब भएको तर पनि हेलिकोप्टर उडेको जानकारी प्राप्त भयो। तीन घन्टा बित्यो तर हेलिकप्टको अत्तो पत्तो भएन।
एयरपोर्टको टावरले सम्पर्क टुटेको जानकारी दियो। पुन रेडियो सेटमा सम्पर्क गरियो। मौसम खराव भएकाले उताबाट बोलेको सुनिएन । फुंगलिंगमा पनि रेडियो सेट थियो, त्यहाँ सम्पर्क गर्दा उडिसकेको त्यसपछि सम्पर्क हुन नसकेको जानकारी प्राप्त भयो।
चार घन्टा बित्यो, पुन घुन्सामा सम्पर्क गरियो। रेडियो सेटमा एकदम घ्यारघ्यारको सानो आवाज आयो केही अस्पष्ट सुनियो—‘उडेको ५–७ मिनेटपछि ठूलो आवाज आयो, मौसम खराव भएकाले केही देखिएन’। हिमाली चुंगदासँगको मेरो यो अपुस्ट रेडियो सम्वाद थियो।
छेउमा अनिलजी पनि हुनुहुन्थ्यो, उहाँ बेचैन हुँदै यता र उता गर्दै हुनुहुन्थ्यो। मिनेट मिनेटमा फोन र सम्पर्कको प्रयास, बिग्रदो मौसम र हराएको हेलिकप्टरले हामीलाई समय बिताउन कठिन भएको थियो— हामी दुवै अत्याधिक तनावमा थियौं।
अब के गर्ने? हामी दुई भाइले सल्लाह गर्यौं र कार्यालयमा सबै कर्मचारीहरुलाई खबर गरी बोलायाैं। हेलिकप्टर क्र्यास भएको भन्न सक्ने हामीसँग कुनै आधार थिएन। त्यहाँबाट हेलिकप्टरमा अन्त कहीं जाने कार्यक्रम पनि तय भएको थिएन। अन्तमा, रेस्क्यु र क्राइसिस म्यानेजमेन्टका लागि हामी मानसिकरूपले तयारी भयौं।
कन्चंनजंगा क्षेत्र अन्तर्गतका नक्साहरु खोलियो र सम्भाव्यताको अध्ययन शुरु गरियो। त्यस क्षेत्रका भीर पाखामा म परिचित भएकाले हेलिकप्टर उडेको ५–७ मिनेटमा कहाँसम्म पुग्नसक्छ र त्यस क्षेत्रको हिमाल र पहाड, भीर, कन्दराहरुको शुक्ष्म अध्ययन गरियो।
हामीले तुरून्तै रेस्क्यू टिम बनायौं र हेलिकप्टरको खोजीका लागि सक्रियता बढायौं। दुर्घटना साइटको मोनिटरिङ, फिल्ड समन्वय र लजेस्टिक तथा प्रेस व्रिफिङको जिम्मेवारी मेरो थियो। स्लिपिङ व्यागसहित मलगायत टिमका साथीहरु कार्यालयमा नै बस्यौं र खोजी कार्यलाई तिव्रता दियौं।
ताप्लेजुङमा मौसम अत्याधिक खराव थियो। हेलिकप्टर चार्टर गरियो तर ल्यान्ड गर्न नसकेर बीचबाटै फर्कन बाध्य भयो। बर्तमान आवासीय प्रतिनिधि घनश्याम गुरूङ र कार्यक्रम अघिकृत नीरा श्रेष्ठ, आयोजना प्रमुख आङ्गछिरिङ्ग शेर्पासमेत फुंगलिङको हस्तान्तरण कार्यक्रमका लागि त्यही उपस्थित हुनु भएको र स्थानीयहरूलाई घुन्सा जान आफ्नो हेलिकप्टरको सिट दिएर आफूहरू ताप्लेजुङमा नै बस्नुभएको थियो।
घनश्यामजीको नेतृत्वमा एक टोलीलाई स्थानीयहरूलाई खोजी कार्यमा सहभागी गराउन घुन्सा क्षेत्रमा खटाइयो। अन्तर्राष्ट्रियस्तरका रेस्कू टिमहरू समेत खटिए तर मौसमले साथ दिएन। हिउँ चितुवा संरक्षणका लागि गठन गरिएका स्थानीय युवाहरूलाई खोजी कार्यका लागि परिचालन गरियो।
अनर्थ हुन लेखेको रहेछ, खोजीको अथक प्रयास पश्चात करिव सात दिनपछि स्थानीय युवाहरूले दुर्घटनास्थल फेला पारे। हेलिकप्टर टुक्रा टुक्रा भएको थियो , हाम्रा गुरुहरु शहिद भएका थिए।
विश्वका प्रख्यात चौवीसजना संरक्षणविदहरुलाई हामीले त्यसदिन गुमाउनु पर्दाको पीडा कहालीलाग्दो छ । भनिन्छ, ‘कन्जर्भेसन क्यान नट वेट’। त्यस दिनपश्चात संरक्षणको यात्रामा नयाँ पिढीको उपस्थिति त भयो तर अनुभवी विज्ञहरु गुमाउनु परेको सो दर्दनाक घटनाले उहांको अभाव संरक्षणका क्षेत्रमा खट्किरहेकै हुन्छ। दिवंगत सम्पूर्ण संरक्षणका अगुवा हिरोहरूप्रति सम्मान गर्दै भावपूर्ण श्रद्वान्जली अर्पण गर्दछु।
Facebook Comment