स्वतन्त्रता सेनानी प्रसाईंको निधन

डिसी नेपाल
२४ असोज २०७७ ९:३५

काठमाडौं। नेपालको लोकतान्त्रिक आन्दोलनका सर्वाधिक ज्येष्ठ व्यक्तित्व रामबाबु प्रसाईं (खनुपरुदे) को शुक्रबार निधन भएको छ। ९९ वर्षीय प्रसाईं २००७ सालदेखि नै नेपालको प्रजातान्त्रिक आन्दोलनमा निष्ठापूर्वक सक्रिय थिए।

देवीप्रसाद र रुद्रकुमारीका प्रथम सन्तानका रूपमा वि.सं. १९७८ माघ १५ मा तेह्रथुमको हाङपाङमा जन्मिएका प्रसाईं बिएस्सी एजी थिए। उनले अमेरिकामा प्राप्त गरेको विशेष छात्रवृत्तिसमेत छाडेर नेपालको प्रजातान्त्रिक आन्दोलनमा आफूलाई समर्पित गरेका थिए।

०१७ सालको काण्डपछि पाँच वर्ष जेल र ६ वर्ष निर्वासित जीवन बिताएका प्रसाईं ०३६ सालको जनमत संग्रहमा बहुदलका पक्षमा सक्रिय, ०४६ सालको जनआन्दोलनमा नेतृत्वदायी भूमिकामा रहेका थिए।

प्रसाईं नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको कोषाध्यक्षसमेत थिए। उनकी प्रथम पत्नी निलिमबाट तुरुप, डुजुप, घिसुप र छोरी पक्रिम र खेजिम रहेका छन्। प्रथम पत्नीको निधनपछि उनले पुनामतिसँग विवाह गरेका थिए। उनी काठमाडौंको सुकेधारामा बसोबास गरिरहेका थिए।

झापाको बिर्तामोड स्थायी घर भएका प्रसाईंले धाइजन स्कुललाई करिब ५ करोड मूल्य बराबरको जग्गा, बिर्तामोड देवी प्राविलाई ५ करोड बराबरको जग्गा र बिर्तामोड बजार व्यवस्थापनका लागि करिब ५ करोड पर्ने जग्गा उनले दान दिएका थिए। २०१७ सालको काण्डपछि प्रसाईंको सय बिघा जग्गा सरकारले कब्जा गरेको थियो।

साहित्यकार समेत भएका प्रसाईंले नइ प्रकाशनमार्फत साहित्यका विभिन्न विधामा पुरस्कारसमेत स्थापना गरेका थिए।

प्रसाईंको निधनमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शोक प्रकट गर्दै भनेका छन्, ‘नेपाली कांग्रेसका पूर्व कोषाध्यक्ष, अग्रज समाजसेवी, सत्यवादी नेताको रूपमा आप्mनो बेग्लै पहिचान बनाउनु भएका रामवावु प्रसाईको निधनको खबरले मलाई दुःखीत बनाएको छ। स्वर्गीय प्रसाईले नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा सक्रिय भूमिका निर्वाह गर्नु भएको थियो। उहाँमा म भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । उहाँको आत्माको चीर शान्तिको कामनाका साथ सबै शोक सन्तप्त परिवारजनप्रति पार्टी र मेरो व्यक्तिगत तर्फबाट हार्दिक समवेदना प्रकट गर्दछु ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *