सर्लाहीमा टोकन प्रणालीमा नागरिकता वितरण

रासस
२४ असोज २०७७ १६:१४

सर्लाही । जिल्लामा नागरिकता लिनेको चाप बढेको भन्दै जिल्ला प्रशासन कार्यालय सर्लाहीले टोकन प्रणालीको शुरुआत गरेको छ । जिल्ला प्रशासन कार्यालय मलङ्गवा, इलाका प्रशासन कार्र्यालय हरिवन र इलाका प्रशासन कार्यालय बरहथवामा नागरिकता बनाउनेको चाप बढेको अवस्थालाई मनन् गर्दै प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले टोकन प्रणालीमा काम शुरु गरेका छन् ।

कोरोना महामारी केही सहज भए पनि सामान्य स्वास्थ्य मापदण्ड पालना नगरी भीडभाड बढेको भन्दै टोकन प्रणालीमा काम शुरु गरेको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए । नयाँ नागरिकताका लागि असोज ३० गतेसम्म र प्रतिलिपिका लागि असोज २३ गतेसम्मको टोकन बाँडिएको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ ।

नागरिकता बनाउन चाहिने कागजात लिएर तोक लगाई, टोकनमा उल्लेख गरिएको मितिमा नागरिकता लिन आउने गरी सेवाग्राहीलाई घर पठाउने गरिएको प्रजिअ पौडेलले बताए । उनका अनुसार इलाका प्रशासन कार्यालय हरिवन र बरहथवामा पनि टोकन प्रणालीको शुरु गरिएको छ ।

देशकै सबैभन्दा धेरै स्थानीय निकाय रहेको सर्लाहीमा नागरिकताबाहेक अन्य सेवा पहिलेकै प्रक्रियामा प्रवाह भइरहेको प्रजिअ पौडेलले बताए । हरिपुर र ईश्वरपुरका केही वडासहित दक्षिणी भेगका १४ वटा पालिकाले नागरिकलाई पूरै सेवा प्रवाह गर्दै आएका छन् ।

इलाका प्रशासन कार्यालय हरिवन र बरहथवाले जिल्लाका छ वटा स्थानीय निकायका सेवाग्राहीलाई सेवा प्रदान गरिरहेको छ भने बाँकी रहेको १४ वटा स्थानीय निकायका सेवाग्राहीलाई जिल्ला प्रशासन कार्यालयले सेवा प्रदान गरिरहेको छ । जिल्ला प्रशासन कार्यालयबाट अहिले दैनिक करिब १२० वटा र इलाका प्रशासन कार्यालय बरहथवा र हरिवनले दैनिक ४५–६० वटा नागरिकता वितरण गरिरहेका छन् ।

इलाका प्रशासन कार्यालय बरहथवाका प्रमुख राजेश रायले लकडाउन र निषेधाज्ञाले पाँच महिना बढी खप्टिएको काम अहिले आएर एकैपटक गर्नुपर्दा अत्यधिक चाप रहेको बताए। केही सातादेखि इलाका प्रशासन कार्यालय हरिवनमा प्रमुख नहुँदा हरिवनबाट वितरण हुने नागरिकता पनि बरहथवाबाटै हस्ताक्षर गराएर काम गरिरहेको इलाका प्रशासन कार्यालय बरहथवाका प्रमुख रायले बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *