सरकारले भन्योः डा. केसीले राखेका माग पूरा हुँदैछन्, अनशन तोड्नुहोस्
काठमाडौं। चिकित्सा शिक्षा सुधारको माग राख्दै प्राडा गोविन्द केसीले १९ औं चरणको आमरण अनशन शुरु गरेको शनिबार २८ दिन पुग्दा सरकारले अनशन तोड्न अनुरोध गरेको छ।
डा. केसीसँग वार्ता गर्नका लागि सरकारले गठन गरेको वार्ता टोलीका संयोजक शिक्षा सचिब गोपिनाथ मैनालीले विज्ञप्ति जारी गर्दै अनशन तोड्न आग्रह गरेका हुन्। उनले देशमा कोरोना महामारी विकाराल अवस्थामा पुगेको भन्दै यस्तो अवस्थामा अनशन तोड्न डा. केसी आग्रह गरेका छन्।
मैनालीले विज्ञप्तिमा डा. केसीले राखेका मागहरु केही पूरा भएको र केही पूरा हुने चरणमा रहेकोसमेत दावी गरेका छन्। उनले स्वास्थ्य ऐन बनेर कार्यान्वयनमा आइसकेको भन्दै ऐनअनुसार कामहरु हुँदै जाने बताएका छन्। डा. केसीले हरेक प्रदेशमा सरकारी मेडिकल कलेज सञ्चालन हुनुपर्ने, डोटी डडेल्धुरा, इलामलगायतका क्षेत्रमा पनि एमबीबीसीएस कार्यक्रम सञ्चालन हुनुपर्ने, कर्णाली स्वास्थ्य विज्ञान पतिष्ठान र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस कार्यक्रम सञ्चालन हुनुपर्ने माग राखेका छन्।
सरकारी वार्ता टोलीले शुक्रबार डा. केसीका प्रतिनिधिसँग भएको वार्तामा ती मागबारे र सरकारले गरेको तयारीबारे स्पष्ट पारिएको भन्दै अनशन तोड्न आग्रह गरिएको छ।
जुम्लाबाट अनशन शुरु गरेका डा. केसी शिक्षण अस्पताल महाराजगञ्जमा अनशनरत छन्। उनले माग पूरा नभएसम्म अनशन जारी राख्ने बताउँदै आएका छन्।
उता डा. केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएपछि विभिन्न क्षेत्रबाट डा. केसीको सत्याग्रहप्रति ऐक्यवद्धता जनाउँदै उनका माग पूरा गर्न सरकारसँग आग्रह गर्नेक्रम पनि बढेको छ। डा. केसीको समर्थनमा सडकदेखि सामाजिक सञ्जालहरुमा समेत अभियान शुरु गरिएको छ। विदेशमा रहेका नेपालीहरुले पनि उनको मागमा समर्थन जनाएका छन्।
सत्तारुढ दल नेकपका प्रवक्ता नारायणकाजी श्रेष्ठले पनि शनिबार बिहान ट्वीट गर्दै उनको जीवन रक्षा हुनुपर्ने बताएका छन्। काँग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीका नाममा सार्वजनिक अपील जारी गर्दै डा. केसीको माग पूरा गर्न आग्रह गरिसकेको छ।
Facebook Comment