अपील नमाने फेरि लकडाउन गरिने सरकारको चेतावनी

डिसी नेपाल
२५ असोज २०७७ १९:५१

काठमाडौं। देशमा कोरोना संक्रमण विस्फोटक रुपमा फैलिएपछि सरकारले फेरि लकडाउन जारी गर्न सकिने चेतावनी दिएको छ। सरकारका प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले यस्तो चेतावनी दिएका हुन्।

मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न आइतबार आयोजित नियमित पत्रकार सम्मेलनमा सरकारले अपील गरिरहेको भन्दै सरकारको अनुरोध र अपीलको पालना नभए फेरि लकडाउन हुन सक्ने बताए।

उनले देशमा भयानक अवस्था आएको भन्दै नागरिकहरु आफ्नोतर्फबाट संवेदनशील हुनुपर्ने बताए। उनले नागरिक संवेदनशील भएर सरकारको अनुरोध पालना गरेर लकडाउन लगाउनुपर्ने अवस्था नआउने अन्यथा सरकार बाध्य हुने बताए।

उनले काठमाडौं उपत्यकामा देशकै ६० प्रतिशत संक्रमण रहेको भन्दै काठमाडौंमा झन जोखिम बढेको बताए। उनले दशैं, तिहार, छठ जस्ता चाडपर्वले झन जोखिम बढ्ने भन्दै यी चाड पर्वमा भीडभाड नगर्न अनुरोध गरे।

सरकारले बारम्बार यो पटकको दशैं जो जहाँ छौं त्यहिँबाट मनाउनुपर्ने अनुरोध गर्दै आएको छ। तर, काठमाडौं उपत्यकालगायत देशका विभिन्न स्थानबाट घर फर्किनेहरुको संख्या बढिरहेको छ। देशमा कोरोना संक्रमितको संख्या आइतबार १ लाख ७ हजार पुगेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *