मदिरा आयातको प्रतिवन्ध हट्यो
काठमाडौं। कोभिड–१९ को संक्रमण रोक्न गरिएको लकडाउन सुरु भएसँगै सरकारले विदेशी मदिराको आयातमा लगाएको प्रतिबन्ध हटाएको छ। असोज २२ गते बसेको मन्त्रिपरिषद्को बैठकले विदेशबाट ल्याउने विदेशी मदिराको आयातमा लगाएको प्रतिबन्ध हटाउने निर्णय गरेको सरकारका प्रवक्ता एवम् परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले आइतबारको पत्रकार सम्मेलनमा जानकारी दिए।
सरकारले विदेशी विनिमय सञ्चितिमा असर पर्ने भन्दै विदेशी मदिराको आयातमा प्रतिबन्ध लगाएको थियो। तर, नेपालीहरुको ठूलो पर्व दशैंतिहार नजिकिएपछि व्यवसायीको दवावमा आयात खुल्ला गरिएको बताइएको छ।
नेपालमा दशैमा सबैभन्दा बढि मदिरा खपत हुने गरेको छ।
आयातमा रोक लगाउदा सरकारी राजश्वमा समेत प्रभाव परेपछि पनि आयात खुल्ला गर्न सरकारलाई दवाव परेको हो।
नेपाल राष्ट्र बैंकका अनुसार हाल विनिमय सन्चिति इतिहासकै सबैभन्दा बढि १४ खर्ब ३६ अर्ब ५३ करोड रहेको छ। रेमिट्यान्स आप्रवाहमा देखिएको सुधार र आयात घट्दा विदेशी विनिमय संचिती राम्रो भएको हो।
यसैगरी सरकारले गाडी आयात पनि खुकुलो बनाएको छ। कुटनीतिक नियोग, कुटनीतिक सुविधा प्राप्त अन्तर्राष्ट्रिय संघसंस्थाका साथै त्यहाँ कार्यरत कर्मचारीले निजी प्रयोजनका लागि ५० हजार डलरसम्मको सवारी साधान आयात गर्न पाउने व्यवस्था गरेको हो।
Facebook Comment