एयर अरेबियाले यही शनिबारदेखि यूएई–नेपाल सस्तो उडान संचालन गर्दै
काठमाडौं। एयर अरेबिया अबु धाबीले यूएई–नेपाल नयाँ उडान संचालन गर्ने भएको छ । यो सस्तो एयरलाइन्सले आगामी शनिबार (अक्टोबर १७) देखि नेपालको राजधानी काठमाडौं र यूएईको राजधानी अबु धाबीबीच उडान संचालन गर्नेछ । अबु धाबी अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौंसम्म हप्तामा ४ उडान ओहोरदोहोर गर्ने एयरलाइन्सलाई उद्धृत गर्दै यूएईको अखबार द नेशनलले जनाएको छ ।
यी उडानहरु अबु धाबी अन्तर्राष्ट्रिय विमानस्थलबाट हरेक शनिबार, सोमबार, बुधबार र शुक्रबार स्थानीय समयअनुसार बिहान ९ बजे उड्नेछन् । यी जहाज नेपालमा स्थानीय समयअनुसार दिउँसो करिब ३ बजे आइपुग्नेछन् । त्यही दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अपरान्ह पौने ४ बजे अबु धाबीको लागि विमान फर्किनेछन् र अबु धाबीमा स्थानीय समुअनुसार बेलुकी ७ बजे अवतरण हुनेछन् ।
एयरलाइन्सले यी उडानका लागि एयरबस ए ३२० जहाज उडाउनेछ । एकतर्फी यात्राको लागि २१६ डलर (नेपाली २५ हजार रुपैयाँ) पर्नेछ । नेपालले सेप्टेम्बर १ देखि व्यवसायिक अन्तर्राष्ट्रिय उडान खुला गरेको छ तर यी उडानमा नेपाली र निश्चित रोजगारी वर्गमा पर्ने विदेशीहरु नेपाल आउन पाउँछन् । कुन कुन शर्त पूरा गर्ने यात्रुहरु नेपाल आउन पाउने भन्ने पूरा विवरण आइसकेको छैन । अहिलेलाई नेपाल आउनको लागि उडानको ७२ घण्टा पहिले परीक्षण गरिएको कोभिड १९ नेगेटिभ रिपोर्ट अनिवार्य आवश्यक पर्छ ।
Facebook Comment