रिक्त तीन मन्त्रालयमा मन्त्री नियुक्त गर्न कर्णालीको विवाद बाधक !

डिसी नेपाल
२६ असोज २०७७ १४:०५

काठमाडौं। सोमबार विहान प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहालबीच मन्त्रिपरिषद पुनर्गठनका विषयमा छलफल हुने तय भएको थियो।

प्रधानमन्त्री ओलीले रिक्त तीन मन्त्रालयमा पूर्व एमालेबाट तीन जना मन्त्री नियुक्त गर्ने तयारी गरेका छन्। त्यसैलाई अन्तिम रुप दिन सोमबार अध्यक्षद्वयबीच छलफल गर्ने तय भएको थियो।

आइतबार दिउँसो अचानक कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाही विरुद्ध आफ्नै पार्टीका १८ जना सांसदले अविश्वासको प्रस्ताव दर्ता गराएपछि परिस्थितिले नयाँ मोड लियो।

पूर्व माओवादीले प्रधानमन्त्री केपी ओलीको निर्देशनमा मुख्यमन्त्री शाही विरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको आरोप लगाएको छ। यही विषयमा अध्यक्षद्वयबीच सोमबार विहानै टेलिफोनमा संवाद पनि गरे। र विहान साँढे नौ बजेदेखि साँढे दश बजेसम्म एक घण्टा छलफल गरे।

यसअघि नै तय भएको मन्त्रिपरिषद पुनर्गठनका विषयमा भने सोमबार छलफल हुन पाएन। छलफलको एजेण्डा कर्णाली प्रदेश सरकार विरुद्ध प्रदेशसभमा दर्ता भएको अविश्वासको प्रस्ताव थियो।

‘प्रधानमन्त्रीले पूर्व एमालेबाट र त्यसमा पनि आफ्ना नजिकका नेताहरुलाई मन्त्रीमा नियुक्त गर्ने तयारी गर्नु भएको छ, केही दिनभित्रै तीन जना नेतालाई मन्त्रीका रुपमा नियुक्ती गर्दैहुनुहुन्छ। पूर्व माओवादीतर्फका आठ जना मन्त्रीलाई अहिले नचलाउने सहमति भएको छ। तिहारपछि हुने पुनर्गठनमा उहाँहरुकातर्फबाट पनि हेरफेर हुनेछ।’

दुई अध्यक्षबीच कर्णाली प्रदेशमा देखिएको समस्या समाधान गर्ने गरी छलफल भएको र कर्णाली प्रदेशका असन्तुष्ट नेतासँग छलफल गरेर निकास खोज्ने सहमति भएको बालुवाटार निकट स्रोतले जनाएको छ।

‘कर्णालीमा पहिला पनि विवाद थियो, त्यो अहिले फेरि बल्झिएको छ,’ बालुवाटार निकट स्रोतले भन्यो, ‘दुई अध्यक्षबीच जसलाई अन्याय परेको छ भन्ने लागेको छ, अन्याय परेका नेतासँग छलफल गरेर निकास खोज्ने विषयमा गम्भीरतापूर्वक छलफल भयो।’

दुई अध्यक्षबीच तिहारपछि मन्त्रिपरिषद पुनर्गठन गर्ने सहमति भइसकेको छ। तर रिक्त मन्त्रालयमा भने केही दिनभित्रै मन्त्री नियुक्त गर्ने प्रधानमन्त्रीको तयारी छ। हाल अर्थ, सञ्चार र शहरी विकास मन्त्रालय मन्त्री विहीन छन्। यी मन्त्रालयमा प्रधानमन्त्री ओलीले पूर्व एमालेबाट मन्त्री नियुक्त गर्ने तयारी गरेका हुन्।

‘मन्त्रिपरिषद पुनर्गठन तिहार पछि गर्ने दुई अध्यक्षबीच सहमति भइसकेको छ,’ स्रोतले भन्यो, ‘तर केही दिनभित्रै प्रधानमन्त्रीले रिक्त तीन मन्त्रालयमा मन्त्री नियुक्त गर्ने तयारी गर्नु भएको थियो। आज त्यसलाई अन्तिम रुप दिने तयारी थियो, तर अचानक कर्णाली विषय प्रवेश गरेपछि रिक्त मन्त्रालयमा मन्त्री नियुक्तीको विषयले प्रवेश नै पाएन।’

‘प्रधानमन्त्रीले पूर्व एमालेबाट र त्यसमा पनि आफ्ना नजिकका नेताहरुलाई मन्त्रीमा नियुक्त गर्ने तयारी गर्नु भएको छ,’ स्रोतको दाबी छ, केही दिनभित्रै तीन जना नेतालाई मन्त्रीका रुपमा नियुक्ती गर्दैहुनुहुन्छ। पूर्व माओवादीतर्फका आठ जना मन्त्रीलाई अहिले नचलाउने सहमति भएको छ। तिहारपछि हुने पुनर्गठनमा उहाँहरुकातर्फबाट पनि हेरफेर हुनेछ।’

स्रोतका अनुसार प्रधानमन्त्री ओलीले अर्थमन्त्रीमा महासचिव विष्णु पौडेललाई नियुक्त गर्ने तयारी गरेका छन् भने शहरी विकास मन्त्रालयमा आफू निकट मानिएका कृष्ण गोपाल श्रेष्ठलाई नियुक्त गर्ने तयारी गरेका छन्।

संचार मन्त्रालयमा भने अहिले क्याबिनेट मै रहेका मध्ये कसैलाई जिम्मेवारी हेरफेर गरेर ल्याउने र रिक्त हुने ठाउँमा नयाँ अनुहारलाई नियुक्ती गर्ने तयारी गरेका छन्।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *