होटलमा बसेर मह बनाउँदै बेच्दै
काठमाडौं। सोमबार बिहान गोङ्गबु मित्रनगरमा नक्कली मह बनाउने सामान फेला पर्यो। होटल रेड डाइमण्डको कोठा ३०२, ३०४ र ३०६ गरी ३ वटा कोठामा नक्कली मह बनाउने सामान थिए। काठमाडौं महानगरको उपभोक्ता हित संरक्षण समितिको अनुगमन टोली होटलमा पुग्दा व्यापारी मह बेच्न बाहिर गएका थिए। होटल सञ्चालकले आफूसँग व्यापारीको सम्पर्क फोन नम्बर नभएको बताए।
अनुगमन टोलीले महानगरीय प्रहरी वृत्त बालाजुको सहयोगमा होटलको निगरानी थालेको छ। अहिले २ जना व्यापारी सम्पर्कमा आएका छन्। उनीहरुलाई नियन्त्रणमा लिएर थप प्रक्रिया अघि बढाइनेछ भएको छ।
होटल सञ्चालक लीलाबल्लभ पराजुलीका अनुसार उनीहरुमध्ये असोज २० गते २ जना आएर कोठा लिएर बस्न थालेका थिए। २२ गते ४ जना थपिए। हिजो अर्थात् असोज २५ गते ६ जना आए। उनीहरु मह व्यापारी हौं भन्थे। कोठामा बस्थे। दिउँसो मह बेच्न जान्थे। बेलुका फर्कन्थे।
पराजुलीकी श्रीमतिका अनुसार उनीहरु मह बेच्ने पुराना व्यापारी हुन्। यस अघि २०७६ को पुष माघ महिनामा आएर व्यापार गरेर फर्केका थिए।
होटलमा उनीहरुको नाम थर भएको कुनै विवरण छैन। सञ्चालक भन्छन् — पहिले पनि आउने जाने गरेकाले परिचय पत्र खोजेनौं। उनीहरु महोत्तरीतिरका हुन्।
अनुगमन टोलीको नेतृत्व गरिरेका महानगरको कृषि बिभागका प्रमुख हरिबहादुर भण्डारीका अनुसार महको चाका मैदाको हुन सक्छ। अन्य रसायन के के प्रयोग गरेका छन्, अध्ययन नभइरहेको उनले बताए। अनुगमन टोलीले होटलका ३ वटा कोठामा भएका सामान बटुलेर एउटै कोठामा ताला लगाएको छ।
त्यहाँ ९ किलो १८६ ग्रामका २८ पोका सामान र १३ टिन माहुरीको चाका छ। यस्तै अन्य सानातिना धेरै पोका छन्।
अनुगमनमा रहनुभएका उपभोक्ता अधिकार मञ्चका अध्यक्ष माधव तिमिल्सेना भन्छन् — यो सक्कली काम हुँदै होइन। लेवलबिनाका सामान बेच्नु सरासर गैरकानुनी हो। त्यसमा पनि मह शतप्रतिशत नक्कली हो।
होटलका कर्मचारीले एउटा पोको खोलेर देखाए। त्यहाँ भएको बाक्लो र च्यापच्याप हुने तरल पदार्थमा चाका डुवाइएको थियो।
नक्कली मह कारोवार सम्बन्धी थप अनुसन्धान भइरहेको छ।
Facebook Comment