कोरोनाभाइरस नियन्त्रणमा चीन सबैभन्दा सफल कसरी छ ? कुन रणनीति अपनाइरहेछ ?
काठमाडौं। कोरोनाभाइरस सबैभन्दा पहिले चीनमा पुष्टि भएको थियो । विश्वको सबैभन्दा ठूलो जनसंख्या भएको चीनमा यो भाइरसले विनाश मच्चाउने अनुमान गरिएको थियो । तर, चीनले निकै छिटो यो भाइरसमानि नियन्त्रण पाउन सफल भयो । अहिले कोरोनाभाइरसले विश्वका अन्य देशहरुमा विनाश मच्चाइरहेको छ । चीनको भन्दा सयौं गुणा कम जनसंख्या भएको नेपालमा समेत संक्रमितको संख्या चीनको भन्दा बढी भइसकेको छ । आखिर चीनले कुन रणनीति अपनाउँदैछ जसका कारण उसको झण्डै डेढ अर्बको जनसंख्यामा यो महामारी फैलिन पाएको छैन ?
चीनको भाइरसमाथि नियन्त्रणको एउटै रणनीति छ – आक्रामक रुपमा परीक्षण । चीनको शहर किंगडाओमा हालै कोरोनाका केही केस भेटिएका थिए । यससँगै चीन सरकारले आक्रामक रुपमा यो शहरको पूरै जनसंख्याको कोरोना परीक्षण गर्ने निर्णय गरेको छ । चीनको रणनीति यति आक्रामक छ कि उसले यो पूरै शहरका ९० लाख जनताको परीक्षण ५ दिनमा पूरा गर्ने लक्ष्य लिएको छ । त्यसमा पनि स्थानीय अधिकारीहरुले त पूरै जनसंख्याको परीक्षण केवल ३ दिनमै गरिसक्ने बताएका छन् । अर्थात, १ दिनमा ३० लाख जनाको परीक्षण सक्ने उनीहरुको लक्ष्य छ ।
चीनले पूरै किंगडाओ शहरको कोरोना परीक्षण गर्ने निर्णय यो शहरमा केवल १२ जना संक्रमित भेटिँदा नै गरिसकेको छ । विदेशबाट आउनेहरुको किंगडाओ शहरमा रहेको एक अस्पतालमा जाँच गर्ने क्रममा केही व्यक्तिहरु संक्रमित पाइएका थिए । स्वास्थ्य अधिकारीहरुका अनुसार अस्पतालसँग सम्बन्धित १ लाख ४० हजार कर्मचारी, बिरामी र अन्य व्यक्तिहरुको जाँच पहिले नै भइसकेको छ । ठूलो संख्यामा तीव्र रुपमा जनताको कोरोना जाँच गरिरहेका कारण चीनमा जीवन धेरै हदसम्म सामान्य भइसकेको छ ।
चीनमा मानिसहरु ठूला ठूला पार्टी र समारोहमा भाग लिइरहेका छन् । र, यस्ता कार्यक्रमलाई सरकारले प्रोत्साहित पनि गरिरहेको छ ताकि विश्वमा चीनको छवि राम्रो बनोस् । यसअघि जूनमा चीनको राजधानी बेइजिङमा ठूलो क्षेत्रमा पूरै जनसंख्याको कोरोना जाँच गरिएको थियो । वुहानमा १९ दिनमा पूरै शहरका जनताको कोरोना जाँच गरिएको थियो । चीनमा अहिलेसम्म कोरोनाको कूल संक्रमित केस १ लाख पनि पुगेको छैन र ४ हजार ६ सय ३४ जनाको ज्यान गएको छ ।
Facebook Comment