तीन सय रोपनी जग्गा उपलब्ध गराईदिने भन्दै ठगी गरेको अभियोगमा ८ जना पक्राउ
कास्की । नेपाल सरकारका पदाधिकारी भन्दै तीन सय रोपनी जग्गा उपलब्ध गराईदिने भन्दै ठगी गरेको अभियोगमा ८ जना पक्राउ परेका छन्।
नेपाल सरकार अव्यवस्थित सुकुम्वासी समाधान आयोगका गण्डकी प्रदेश कार्य समितिका पदाधिकारी हौं भन्दै झुठ्ठा व्यहोरा देखाई ठगी गरेको अभियोगमा ८ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा हिरा बहादुर तामाङ, रमेश कुमार परियार, ओम बहादुर सुनार, रिता विश्वकर्मा, सोनु परियार, सिता सुनार, हर्क बहादुर बिक र मौसम सदासंकर रहेका छन् ।
उनीहरुमध्ये हिरा, रमेश र ओमलाई पोखरा महानगरपालिका–१४ बाट, रिता, सिता, हर्क र मौसमलाई पोखरा महानगरपालिका-१३ बाट तथा सोनुलाई पोखरा महानगरपालिका–१७ बाट पक्राउ गरेको प्रहरीले जनाएको छ।
उनीहरुले झुठ्ठा व्यहोरा देखाई स्थानीय मानिसहरुलाई भर बिश्वास दिलाई पोखरा महानगरपालिका–१४ भोटे चौतारा एरियामा रहेको ३ सय रोपनी क्षेत्रफलमा घर जग्गा उपलब्ध गराईदिने र तत्कालै उक्त जग्गामा अमिन लगेर फिल्डमा नापजाँप गर्ने भनि रकम उठाई रहेको भन्ने सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कास्कीबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
प्रहरीले उनीहरुको साथबाट नगद १ लाख ६१ हजार रुपैयाँ, बिभिन्न मितिमा बैठक गरिएका निर्णय रजिष्टर १ थान, नगद उठाएको रजिष्टर १ थान, नगदी रसिद प्याडहरु, नगद उठाएको रसिद प्याडको अर्धकट्टीहरु, बिभिन्न व्यक्तिहरुको नागरिकताको फोटोकपी १९ थान, बिभिन्न व्यक्तिहरुको पासपोर्ट साईजको फोटोहरु र अव्यवस्थित सुकुम्वासी समस्या समाधान आयोग काठमाडौं लेखिएको गण्डकी प्रदेश कार्यसमिति गठन भएको पत्र १ थान समेत बरामद गरेको छ ।
पक्राउ परेका व्यक्तिहरु उपर थप अनुसन्धान प्रकृया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
Facebook Comment