जानीजानी आफूलाई कोरोनाभाइरसबाट संक्रमित गराउन किन तयार छन् दशौं हजार मानिस ?
काठमाडौं। विश्वमा एक समूहका मानिसहरु जसरी हुन्छ कोरोनाभाइरसको संक्रमणबाट बच्ने प्रयासमा रहेका बेला एक समूह भने जानीजानी आफूलाई भाइरसबाट संक्रमित गराउन तयार छन् । विश्वभरका दशौं हजारले ‘वन डे सूनर’ नामक अभियानमा सहभागी हुनको लागि आवेदन दिएका छन् । यो अभियानमा सहभागी हुनेहरुलाई पहिले परीक्षणकै क्रममा रहेको भ्याक्सिन दिइनेछ त्यसपछि उनहिरुलाई जानीजानी कोरोनाभाइरसबाट संक्रमित गराइनेछ । यो एक प्रकारको ट्रायल हो र यसलाई ह्युमन ट्रायल च्यालेन्ज भनिन्छ । यो ट्रायल विधिले भ्याक्सिन सुरक्षित र प्रभावकारी छ कि छैन भन्ने प्रमाणित गर्ने काम निकै छिटो हुन्छ ।
सीएनएनका अनुसार ३२ वर्षकी एस्टेफेनिया हिडाल्गो यिनै हजारौंमध्येकी एक हुन् । इङल्याण्डको ब्रिस्टोलकी यी फोटोग्राफीकी विद्यार्थी आफूलाई जानीजानी संक्रमित गराउन तयार छिन् । अहिले आफ्नो दैनिक खर्च चलाउन ग्यास स्टेशनमा काम गर्ने एस्टेफेनिया भन्छिन् ‘यो भ्याक्सिन चाँडै ल्याउने अभियानको लागि मैले गर्न सक्ने एउटा योगदान हो । यो अभियान सफल भएमा कोही पनि छुट्नु हुँदैन । वृद्ध, गरिब, विभिन्न रंगका मानिसहरु सबैले यसको फाइदा पाउनुपर्छ । सबैलाई स्वस्थ रहने अधिकार छ ।’
ह्युमन च्यालेन्ज ट्रायल विवादित रहँदै आएको छ यद्यपि विगतमा यसको प्रयोग पनि भएको छ । झाडापखाला, टाइफाइड, औलो र रुघाखोकीको भ्याक्सिन बनाउँदा ह्युमन ट्रायल च्यालेन्ज प्रयोग गरिएको थियो । यद्यपि ती रोगहरुको औषधि थियो र अहिले कोभिड १९ को लागि औषधि नभएकोले यो ट्रायल बढी विवादमा परेको हो । आलोचकहरुले त ह्युमन च्यालेन्ज ट्रायलमा स्वस्थ युवाहरु सहभागी हुने भएकोले यसले विभिन्न उमेर समूह र फरक फरक स्वासथ्य अवस्थाका पूरै जनसंख्याको प्रतिनिधित्व नगर्ने दावी पनि गर्छन् । गत महिना बेलायत यसकारले यस प्रकारको ट्रायलको लागि छलफल गरिरहेको बताएको थियो ।
एस्ट्राजेनेका, सनोफी र बायोएनटेकजस्ता ठूला भ्याक्सिन विकासकर्ता कम्पनहिरुले भने आफूहरु ह्युमन च्यालेन्ज ट्रायलको लागि इच्छुक नभएको बताइसकेका छन् । ११ वटा सम्भावित भ्याक्सिनहरु अहिले फेज ३ ट्रायल चरणमा छन् । र, यो ट्रायलको क्रममा दशौं हजार स्वयंसेवकहरुलाई भ्याक्सिन दिइएको छ ।
Facebook Comment